टिभी कमेडी शो ‘कमेडी दरबार’का निर्देशकद्वय श्रद्धा प्रसाईं र विक्की अग्रवाल अब कथानक फिल्म निर्माणमा जुट्ने भएका छन् । यसपटक उनीहरूको सहकार्य अभिनेत्री तथा निर्मात्री रेखा थापासँग हुने भएको छ । रेखा थापाले सामाजिक सञ्जालमार्फत नयाँ फिल्मको शीर्षक र टिम सार्वजनिक गरेकी हुन् । फिल्मको नाम ‘काउकुती’ राखिएको छ ।
शीर्षकबाटै यो फिल्म हाँस्यप्रधान कथावस्तुमा आधारित हुने अनुमान गरिएको छ, यद्यपि निर्माण पक्षले कथा खुलाएको छैन । ‘काउकुती’ रेखा थापा फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्ममा रेखा थापा स्वयं मुख्य भूमिकामा देखिनेछिन् भने अन्य कलाकारहरूको नाम भने सार्वजनिक गरिएको छैन ।
फिल्मको निर्देशन श्रद्धा प्रसाईंले गर्नेछिन् भने पटकथा लेखनमा विक्की अग्रवाल र बिनेश राईको सहकार्य रहनेछ । निर्माण पक्षमा रेखाका श्रीमान बलराम शाही ठकुरी र नवराज श्रेष्ठ रहेका छन् । संगीत निर्देशन प्रशान्त शिवाकोटीको रहनेछ भने फिल्ममा चर्चित र्यापर लिल झोलाको स्वर पनि रहनेछ ।
निर्माण पक्षका अनुसार फिल्ममा रेखा थापाले एक नयाँ डेब्यू अभिनेतासँग अनस्क्रिन रोमान्स गर्नेछिन् । ‘काउकुती’ रेखा फिल्म्सको आठौं फिल्म प्रोजेक्ट हो ।




