नेपालका प्रभावशाली युवा उद्यमी परशुराम चौहान ‘प्रलाद’ अन्तर्राष्ट्रिय मञ्चमा विश्व कीर्तिमानसँग जोडिएका छन् । उनलाई Universal Book of World Records द्वारा सम्मानित गरिएको हो । बहुक्षेत्रीय स्वास्थ्य सेवा, डायग्नोस्टिक्स र परामर्श क्षेत्रमा सक्रिय चौहानलाई विभिन्न उद्यममा निर्वाह गर्दै आएको प्रभावकारी नेतृत्वदायी भूमिकाको कदरस्वरुप ‘गतिशील युवा उद्यमी’ विधामा उक्त सम्मान प्रदान गरिएको हो । नरुलाज एन्ड कम्पनी (इभेन्ट्स)को व्यवस्थापनमा सम्पन्न कार्यक्रममा पत्रकारिता, महिला सशक्तीकरण, डिजिटल मिडिया, कला र व्यवसाय क्षेत्रमा संलग्न अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
ताप्लेजुङबाट काठमाडौं आएर उद्यमशील क्षेत्रमा स्थापित भएका चौहान कलाकारिता, सामाजिक तथा राजनीतिक गतिविधिमा पनि सक्रिय छन्। स्वास्थ्य सेवा र डायग्नोस्टिक्स क्षेत्रमा उनले पु¥याएको योगदानलाई विशेष रूपमा प्रशंसा गर्दै आयोजकले उनको कामले उद्यमशीलता र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम गरेको उल्लेख गरेका छन् । सम्मान प्राप्त गरेपछि चौहानले यो उपलब्धि सामूहिक प्रयासको परिणाम भएको बताए । “यो उपलब्धि मेरो मात्र होइन, परिवार, सहकर्मी, शुभेच्छुक र सम्पूर्ण नेपालीको साथ र विश्वासको प्रतिफल हो,” उनले भने ।

अन्तर्राष्ट्रिय स्तरमा नेपाली युवाको प्रतिनिधित्व गर्न पाउँदा गर्व लागेको उल्लेख गर्दै उनले यस्तो उपलब्धिले नेपाली युवामा क्षमता, दूरदृष्टि र लक्ष्यप्रति प्रतिबद्धता रहेको सन्देश विश्वसामु पुगेको बताए। आगामी दिनमा अझ ठूलो लक्ष्यका साथ अघि बढ्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् । संघर्षबाट स्थापित भएका चौहान कर्ममा विश्वास गर्ने बताउँदै भन्छन्, “म पनि ग्रासरुटबाट यहाँसम्म आएको हुँ, गरे के हुन्न र? तर सबै कुरा आफैँमा भर पर्छ ।”
उनले व्यवसायमार्फत धेरैलाई रोजगारी दिएका छन् भने समाजसेवामा पनि सक्रिय छन् । कोभिडकालदेखि हालसम्म उनले धेरै व्यक्तिहरूलाई सहयोग गर्दै आएका छन् । भारतको Goa स्थित Baga Beach मा आयोजित एक अन्तर्राष्ट्रिय समारोहमा चौहानलाई सम्मान गरिएको हो ।




