रिलिजको नजिक पुगेको फिल्म ‘मालती मंगले’को प्रचार अभियान नेपालगन्जमा भव्य रूपमा सम्पन्न भएको छ। दशौँ हजारभन्दा बढी दर्शकमाझ आयोजित कार्यक्रममा फिल्म युनिटले विशेष सांगीतिक प्रस्तुति दिएको हो । कार्यक्रममा गायक तथा निर्माता रामकृष्ण ढकाल, अभिनेत्री वर्षा राउत, कलाकार मेक्सम गौडेल र गायिका ऋतिका श्रेष्ठ सहभागी थिए ।

कार्यक्रममा कलाकारहरूले फिल्मका चर्चित गीतहरू प्रस्तुत गर्दा दर्शकहरू उत्साहित बनेका थिए। विशेषगरी ‘ढुंगामाथी लेउ’ गीतले दर्शकलाई झुमाएको थियो भने मेक्सम गौडेलको कमेडी प्रस्तुतिले माहोल थप रमाइलो बनाएको थियो ।

निर्माण पक्षका अनुसार नेपालगन्जको यो कार्यक्रम फिल्मको प्रचार यात्राकै सबैभन्दा ठूलो दर्शक सहभागितामध्ये एक हो । प्रकु पाण्डेयको निर्देशनमा बनेको यस फिल्मलाई रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो । फिल्मको कथा निर्देशक पाण्डेयकै हो भने पटकथा तथा संवाद संयोग गुरागाईं ले तयार गरेका हुन्। फिल्मका ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ गीतहरू यसअघि नै सार्वजनिक भइसकेका छन् ।

फिल्ममा विजय बराल, वर्षा राउत, मेक्सम गौडेलसँगै नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराई लगायत कलाकारहरूको अभिनय रहेको छ । फिल्मका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह–निर्माताका रूपमा रहेका छन् ।

प्राविधिक पक्ष पनि बलियो रहेको फिल्ममा महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ । हर्क साउदको शब्द, एसडी योगीको संगीत र रिकेश गुरुङको एरेन्ज रहेको गीतहरूको भिडियो कोरियोग्राफी रोशन बिकले गरेका हुन् । फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।




