आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म मितज्यूको दोस्रो गीत ‘भुनभुन माहुरी’ सार्वजनिक गरिएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले आइतबार गीतको भिडियो रिलिज गरेको हो । सार्वजनिक गीतमा कलाकार सौगात मल्ल, दयाहाङ राई र रुषा न्यौपानेले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । लोकलयमा आधारित यस गीतले तीन पात्रबीचको प्रेम सम्बन्धलाई जीवन्त रूपमा देखाएको छ । “टाढा भइस नभन त कहिले, तिमीसँगै छु सानु म जहिले” भन्ने भाव गीतमा प्रस्तुत गरिएको छ ।
गीतमा शब्द तथा संगीत श्रीकृष्ण बम मल्लको रहेको छ भने स्वरमा उनीसँगै लक्ष्मी मल्लले साथ दिएकी छन्। भिडियोको कोरियोग्राफी निङ्मा डी लेप्चाले गरेका हुन्, जसमा फरक शैलीको नृत्य प्रस्तुत गरिएको छ । दोहोरी साँझको परिवेशमा छायांकन गरिएको यो गीतले ग्रामीण जीवन र युवापुस्ताको लोकप्रिय दोहोरी संस्कृतिलाई समेटेको छ, जसले गीतलाई अझ आकर्षक बनाएको छ । साथै, फिल्ममा तेरिया फौजा मगरसहित अन्य कलाकारहरूको पनि सशक्त अभिनय रहनेछ ।
निर्देशक अनिल बुढा मगरको निर्देशनमा बनेको यस फिल्ममा जनक घर्ती मगरको लगानी रहेको छ । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा लोकेश बज्राचार्यको सम्पादन र शिशिर बिशंखेको छायांकन रहेको छ । यसअघि सार्वजनिक गीत ‘गैराघरे काँइली’ दर्शकमाझ निकै लोकप्रिय बनेको थियो भने ‘भुनभुन माहुरी’ले पनि सोही लयलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।




