आगामी वैशाख १८ गते प्रदर्शनमा आउने फिल्म लालीबजार यतिबेला दर्शकमाझ प्रतीक्षित बनेको छ । षट्कोण आर्ट्सले निर्माण गरेको यस फिल्मले यसअघि नै सार्वजनिक पोस्टर, ट्रेलर र गीतमार्फत चर्चा बटुलिसकेको छ । फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा छिन्, जसमा उनले बादी समुदायकी ‘मधुवाला’ नामक पात्र निर्वाह गरेकी छन् । उनले यो फिल्मलाई आफ्नो अभिनय यात्राको ‘टर्निङ प्वाइन्ट’का रूपमा लिएको बताएकी छन् । ‘बुलबुल’ र ‘चिसो मान्छे’पछि आफूलाई फरक ढंगले प्रस्तुत गर्ने अवसर ‘लालीबजार’ले दिएको उनको भनाइ छ।
फिल्मको कथा निर्देशक यम थापाको हो भने पटकथा उनले प्रदीप भट्टराईसँग मिलेर तयार गरेका हुन्। यसपटक षट्कोण आर्ट्सले निर्देशनको जिम्मा भट्टराईबाट थापालाई दिएको हो । निर्माता म्याक्स दीपेश खत्रीका अनुसार ‘लालीबजार’ विषयवस्तुको हिसाबले षट्कोण आर्ट्सले निर्माण गरेका फिल्ममध्ये सबैभन्दा गम्भीर र परिपक्व कृति हो । यसअघि ‘जात्रा’, ‘महापुरुष’ जस्ता सफल फिल्म बनाएको टिमले यसपटक आमा–छोरीको भावनात्मक कथा प्रस्तुत गरेको छ ।

फिल्ममा कलाकार रवीन्द्रसिंह बानियाँले नकारात्मक भूमिका निर्वाह गरेका छन् । उनले फिल्ममा समाजमा देखिने शोषण र सामन्ती सोचलाई चित्रण गरिएको बताए। उनका अनुसार फिल्म तयार गर्न टिमले बर्दिया पुगेर गहिरो अनुसन्धान गरेको थियो । डेब्यु कलाकार विशाल देवकोटा र प्रशंसा सुवेदी पनि फिल्मलाई लिएर उत्साहित छन् । विशालले थियटरबाट फिल्ममा आएको अनुभव सुनाउँदै स्वस्तिमासँग काम गर्न पाउनु ठूलो अवसर भएको बताए भने प्रशंसाले वर्कशप र टिमको सहयोगले अभिनय सिक्न मद्दत पुगेको बताइन् ।
फिल्मले बादी समुदायको पृष्ठभूमिमा आमा र छोरीको संघर्ष, ममता र सामाजिक यथार्थलाई उठान गरेको छ। निर्माण पक्षका अनुसार फिल्ममार्फत दर्शकलाई उक्त समुदायबारे सही जानकारी दिन प्रयास गरिएको छ । टिमका अनुसार ‘लालीबजार’ केवल मनोरञ्जनात्मक फिल्म मात्र नभई सामाजिक सन्देश बोकेको सशक्त कथा हो, जसले हलभित्र मात्र नभई समाजमा पनि बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ ।




