आज शुक्रबारबाट नेपाली फिल्म परालको आगो देशभर प्रदर्शनमा आएको छ। प्रदर्शनको पहिलो दिनदेखि नै हलहरूमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ भने बिहानैदेखि धेरै शोहरू हाउसफुल देखिएका छन् । फिल्मले देशभर करिब डेढ सयभन्दा बढी शो पाएको छ । दर्शकको उत्साहलाई मध्यनजर गर्दै हल सञ्चालकहरूले उच्च शो दिएका हुन् । निर्माता सुशील पोखरेल का अनुसार अधिकांश हलहरू हाउसफुल रहेका छन् र निर्माण टिम पनि बिहानैदेखि विभिन्न हलहरूमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेको छ ।
१३५ मिनेट रनटाइम रहेको यस फिल्मले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। साहित्यकार गुरु प्रसाद मैनाली को चर्चित कृति ‘परालको आगो’बाट प्रेरित भएकाले पनि फिल्मप्रति दर्शकको चासो अझ बढेको देखिन्छ । फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायत कलाकारहरूको अभिनय रहेको छ ।
हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्मको लगानी सुशील पोखरेलले गरेका हुन् भने पटकथा तथा संवाद सुशील देवकोटा ले लेखेका छन् । फिल्मको भिएफएक्स समिर मिया र सत्यम रानाले तयार गरेका छन् । यसैगरी, फिल्मको पाश्र्व संगीत किरण तुलाधरको रहेको छ भने संगीतमा शान्ति ठटाल, सत्य–स्वरुप आचार्य र प्रकाश सपुतको योगदान रहेको छ । गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका हुन् ।
फिल्मको वितरण आरआर फिल्म्सले गरेको छ भने डिजिटल अधिकार ओएसआरले लिएको छ । पहिलो दिनको दर्शक उत्साहले फिल्मको व्यापारप्रति निर्माण टिम थप आशावादी देखिएको छ ।




