आगामी वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म लालीबजार को तेस्रो गीत मै राम्री छु त नी को सानो अंश सार्वजनिक गरिएको छ । निर्माण कम्पनी षट्कोण आर्ट्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा गायिका दीपिका बयम्बू मगर को स्वर रहेको छ भने कोरसमा रन्जिता विश्वकर्मा, बिन्दु बिसी, सुनिता सुनार, मनोज बिक र गोविन्द अनेकको सहभागिता छ। गीतमा प्रकाश सपुत को शब्द तथा संगीत रहेको छ ।
सार्वजनिक झलकमा फिल्मकी मुख्य कलाकार स्वस्तिमा खड्का सहित रवीन्द्र सिंह बानियाँ, मुकुन्द श्रेष्ठ र जानकी कडायत लगायत कलाकारहरू फिचर्ड छन् । नारी सौन्दर्यलाई केन्द्रमा राखेर तयार गरिएको गीतमा स्वस्तिमाको उपस्थितिलाई विशेष रूपमा प्रस्तुत गरिएको छ। गीतको कोरियोग्राफी प्रदीप लामाले गरेका हुन् ।
गीत सार्वजनिक भएसँगै टिकटक, फेसबुक रील्स र युट्युब शर्ट्समा यसको प्रयोग बढ्न थालेको छ। निर्माण पक्षका अनुसार गीतको पूरा भर्सन भने फिल्म रिलिजसँगै हलमा हेर्न पाइनेछ । यसअघि सार्वजनिक गरिएको फिल्मको ट्रेलरले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । ट्रेलर युट्युबको ट्रेन्डिङ चार्टमा प्रवेश गर्दै हाल शीर्ष स्थानतर्फ अग्रसर रहेको छ । ट्रेलरमा आमा–छोरीको भावनात्मक कथा प्रस्तुत गरिएको छ, जसमा बादी समुदायमा रहेको ‘नाथिया’ जस्तो कुप्रथाको विषय उठाइएको छ ।
फिल्ममा छोरीको सुरक्षाका लागि आमाले गर्ने संघर्षलाई मुख्य कथा बनाइएको छ। स्वस्तिमा खड्का आमाको भूमिकामा देखिँदा उनको अभिनयको प्रशंसा भइरहेको छ । साथै रवीन्द्र सिंह बानियाँ, समाइरा थापा, प्रशंसा सुवेदी र विशाल देवकोटाको कामले पनि सकारात्मक प्रतिक्रिया पाएको छ ।
निर्देशक यम थापा को निर्देशनमा तयार भएको फिल्मको कथा तथा पटकथा उनी र प्रदीप भट्टराई ले संयुक्त रूपमा लेखेका हुन्। षट्कोण आर्ट्सको निर्माणमा तयार भएको यस फिल्मले यसअघि ‘जात्रा’, ‘महापुरुष’ जस्ता सफल फिल्म दिइसकेको टिमको निरन्तरता बोकेको छ । बर्दियाको राजापुरमा छायांकन गरिएको फिल्ममा स्वस्तिमा, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल लगायतका कलाकारहरूको अभिनय रहेको छ । साथै, यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गरेका छन् ।




