नेपाली संगीत क्षेत्रमा फरक स्वाद र नयाँ ऊर्जा थप्ने उद्देश्यसहित तयार पारिएको गीत ओ डारलिङ काले काले छौ एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ । पश्चिमेली फ्लेभरमा सजिएको यस गीतले समकालीन संगीतप्रेमीहरूलाई नयाँ अनुभूति दिने विश्वास गरिएको छ । सार्वजनिक कार्यक्रम सुमधुर, स्नेहिल र संगीतमय वातावरणले भरिएको थियो । विशेषगरी गायिका जुनु प्रसाई को जन्मदिनको अवसरसँगै गीत विमोचन गरिँदा कार्यक्रम अझ उल्लासमय बनेको थियो । उपस्थित अतिथि तथा संगीतप्रेमीहरूले एकैसाथ गीत सार्वजनिक र जन्मदिनको खुशी साटासाट गर्दा आत्मीयता र उत्साह झल्किएको देखिन्थ्यो ।
‘ओ डारलिङ काले काले छौ’ नेपाली संगीतको परम्परागत धाराभन्दा केही पृथक् शैलीमा प्रस्तुत गरिएको छ । आधुनिक प्रस्तुतीकरण र पश्चिमेली प्रभावले गीतलाई आकर्षक बनाएको छ। गीतमा गायक सन्तोष विसी र जुनु प्रसाईको स्वर रहेको छ भने शब्द तथा सिर्जना रमेश परियार ले गरेका छन् । उक्त गीत गीतकार तथा उच्च अदालतका पूर्व न्यायाधीश भीमकुमार ओझा को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
उहाँको संगीतप्रतिको निरन्तर योगदानले नयाँ पुस्ताका सर्जकहरूलाई प्रेरित गर्दै आएको छ । गीत सार्वजनिक भएसँगै आयोजकले देश तथा विदेशमा रहेका नेपाली संगीतप्रेमीहरूलाई गीत सुनी प्रतिक्रिया, सुझाव र सल्लाह दिन आग्रह गरेका छन् । दर्शक–श्रोताको प्रतिक्रियालाई सिर्जनालाई अझ परिस्कृत बनाउने महत्वपूर्ण आधारका रूपमा लिइएको छ ।
‘ओ डारलिङ काले काले छौ’ जस्तो नवीन शैलीको प्रस्तुतीकरणले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने दिशामा सानो तर महत्वपूर्ण पाइला चालिएको विश्वास व्यक्त गरिएको छ ।




