गत वैशाख ४ गते सार्वजनिक गरिएको फिल्म लालीबजारको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्तासँगै सेलिब्रेटीहरूले पनि ट्रेलर र यसको विषयवस्तुको खुलेर प्रशंसा गरिरहेका छन् । षट्कोण आर्ट्सद्वारा निर्माण गरिएको फिल्मको ट्रेलर सार्वजनिक भएको छोटो समयमै युट्युब ट्रेन्डिङमा प्रवेश गर्न सफल भएको थियो । हाल ट्रेलर मुभी चार्टतर्फ तेस्रो स्थानमा रहेको छ ।
ट्रेलरमा प्रस्तुत आमा–छोरीको भावनात्मक कथालाई दर्शकले विशेष रूपमा मन पराएका छन् । बादी समुदायकी महिलाको भूमिकामा स्वस्तिमा खड्काको अभिनयको सर्वत्र प्रशंसा भइरहेको छ । साथै रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा तथा डेब्यु कलाकारद्वय विशाल देवकोटा र प्रशंसा सुवेदीको अभिनयलाई पनि सकारात्मक प्रतिक्रिया मिलेको छ ।
फिल्मले बादी समुदायमा प्रचलित ‘नाथिया’ जस्तो कुप्रथालाई उठान गर्दै आमाले छोरीको सुरक्षाका लागि गर्ने संघर्षलाई केन्द्रमा राखेको छ। स्वस्तिमा खड्का फिल्ममा आमाको भूमिकामा देखिएकी छन् । यसअघि षट्कोण आर्ट्सले ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेको छ । यसपटक भने निर्देशनको जिम्मा यम थापालाई दिइएको छ, जसले ‘रज्जा रानी’, ‘हुर्रे’ र ‘मेरी मामु’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।
फिल्मको कथा आमा–छोरीको सम्बन्धमा आधारित रहेको निर्देशक थापाले बताएका छन् । पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ र दोस्रो गीत ‘मिठो संसार’ पनि दर्शकमाझ लोकप्रिय भइसकेका छन् । आगामी वैशाख १८ गतेबाट प्रदर्शनमा आउने फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेललगायत कलाकारहरूको अभिनय रहेको छ ।
फिल्मको पटकथा तथा संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् भने निर्माणमा म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ रहेका छन् । फिल्मप्रति निर्माण टिम र दर्शक दुवै पक्षबाट सकारात्मक अपेक्षा गरिएको छ ।




