फिल्म मालती मंगलेको तेस्रो गीत ‘झ्याम पारम’ सार्वजनिक गरिएको छ । गायक रामकृष्ण ढकालले निर्माण गरेको फिल्मको यसअघि सार्वजनिक ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ले सकारात्मक प्रतिक्रिया पाइरहेका बेला निर्माण टिमले सोमबार लोकलयमा आधारित नयाँ गीत सार्वजनिक गरेको हो ।
युवायुवतीबीचको प्रेम र आकर्षणलाई समेटिएको गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर रहेको छ। गीतमा राजेन्द्र थापाको शब्द, राजनराज सिवाकोटीको संगीत तथा श्यामश्वेत रसाइलीको एरेन्ज रहेको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विजय बराल र वर्षा राउतलाई विवाहको माहोलमा प्रस्तुत गरिएको छ । रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोमा मक्सम गौडेल, सविन कार्की, एलिसा शर्मा र रोशित कर्माचार्यको नृत्य देख्न सकिन्छ ।
प्रकु पाण्डेयको निर्देशनमा बनेको फिल्ममा विजय र वर्षासहित नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, राज पङ्गेनीलगायत कलाकारको अभिनय रहेको छ । फिल्मको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् ।
आगामी वैशाख २५ गतेबाट प्रदर्शनमा आउने यस फिल्मका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् । फिल्ममा महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ ।




