जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मितज्यू’को गीत ‘गैराघरे काँइली’ डिजिटल प्लेटफर्ममा ट्रेन्डिङ नम्बर १ मा पुगेको छ । युट्युबमार्फत ओएसआरबाट सार्वजनिक गरिएको यो गीत छोटो समयमै लोकप्रिय बन्दै शीर्ष स्थानमा उक्लिएको हो । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगर देखिएका छन् । भिडियोमा सौगात मल्ल र तेरियाको आकर्षक नृत्य प्रस्तुत गरिएको छ भने दयाहाङ राईलाई अभिनयमार्फत प्रस्तुत गरिएको छ । लोकलयमा आधारित गीत भएकाले दर्शक–श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।
श्रीकृष्ण बम मल्ल र मेलिना राईको स्वर रहेको गीतमा शब्द तथा संगीत पनि मल्लकै रहेको छ । मिङ्मा डी लेप्चाको कोरियोग्राफी रहेको गीतले गाउँले परिवेशको कथालाई प्रस्तुत गरेको छ, जसले दर्शकलाई थप आकर्षित गर्ने विश्वास निर्माण पक्षको छ । जनक घर्ती मगरको निर्माणमा तयार भएको फिल्म ‘मितज्यू’लाई अनिल बुढा मगरले निर्देशन गरेका हुन् ।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई र खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारको अभिनय रहेको छ । यसै फिल्मबाट तेरिया फौजा मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन् ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको सम्पादन लोकेश बज्राचार्यले गरेका छन् भने छायांकन शिशिर बिशंखेले गरेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक फिरोज खड्का हुन् । फिल्मका गीतमा श्रीकृष्ण बम मल्लको संगीत रहेको छ भने स्वरमा मल्ल, मेलिना राई र लक्ष्मी मल्लको सहभागिता रहेको छ। आरआर फिल्म्सले वितरण गर्ने फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ ।




