आगामी चैत्र २७ गतेदेखि सोलो रिलिजमा आउन लागेको फिल्म ‘राम नाम सत्य’को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंस्थित वान सिनेमाज हलमा आयोजित एक कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । माइकल चन्दको कथा, पटकथा तथा निर्देशनमा बनेको फिल्मको ट्रेलरमा विराज भट्टको दमदार एक्सन र संवाद प्रस्तुत गरिएको छ । साथै, नायक सुशील श्रेष्ठ र नायिका दिव्या रायमाझीबीचको प्रेम र विराज–सुशीलबीचको एक्सन दृश्यले ट्रेलरलाई आकर्षक बनाएको छ ।
फिल्ममा नव–नायक आयुष सिंह ठकुरीको भूमिका पनि विशेष देखिएको छ । उनको सस्पेन्सपूर्ण उपस्थितिले दर्शकमा थप उत्सुकता जगाउने अपेक्षा गरिएको छ । नव–नायिका खुशी कार्की र विराज भट्ट फिचर्ड ‘हुम्लाको सिमी’ बोलको गीत यतिबेला चर्चामा छ ।
फिल्ममा दिनेश डीसी, सुधिर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल, सुशान्त कुमार श्रेष्ठ, उपेन्द्र शाही, रामेश्वर शाह, कनिज कोइराला, लोकेन्द्र जीसी, हेमा खड्का, दीपक कोइराला, विनुता विमली र सरोज शाहलगायतका कलाकारको अभिनय रहेको छ। साथै, आयुष विक्रम शाही, अधिराज चन्द, संरचना चन्द र श्रृङ्खला बिष्ट बाल–कलाकारका रूपमा देखिएका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा बनेको फिल्ममा उपेन्द्र शाही र स्वेता विमलीको लगानी रहेको छ । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता हुन् भने तेजराज चटौत र दमन बहादुर चन्द सह–निर्माता रहेका छन् ।
मोती कार्की क्रियटिभ निर्माता रहेको फिल्ममा राजेन्द्र आचार्य लाइन प्रोड्यूसर हुन् । काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्यूसनले फिल्म वितरण गर्नेछन् । फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीत, मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन र काला चरणको ब्याकग्राउण्ड म्युजिक रहेको छ। सियोन श्रेष्ठको कोरियोग्राफी तथा शेरबहादुर लामाको छायांकन रहेको फिल्मको ट्रेलर साहिल खानले तयार पारेका हुन् ।
कार्यक्रममा बोल्दै अभिनेता विराज भट्टले फिल्ममा एक्सनसँगै प्रेम, सस्पेन्स र पारिवारिक कथा समेटिएको बताउँदै दर्शकले मन पराउने विश्वास व्यक्त गरे । अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री दिव्या रायमाझीले पनि फिल्मप्रति उत्साह व्यक्त गरे । निर्देशक माइकल चन्दले करिब पाँच वर्ष लगाएर कथा तयार गरिएको उल्लेख गर्दै दर्शकको रुचिअनुसार फिल्म निर्माण गर्न कुनै कसर बाँकी नराखिएको बताए ।




