अमेरिकामा रहेर चिकित्सक पेशामा आवद्ध सुरेश बस्नेत र रेहा पोखरेलको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’ सार्वजनिक गरिएको छ । गायक सुरेश बस्नेतको स्वरमा समावेश उक्त गीतको म्युजिक भिडियो हालै रिलिज गरिएको हो । ‘दुई मुटु, एक यात्रा’ थिममा तयार पारिएको भिडियो अमेरिका, अष्ट्रेलिया र न्यूजिल्याण्डका रमणीय स्थानमा छायांकन गरिएको छ ।
भिडियोमा सुरेश र रेहाले श्रीमान्–श्रीमतीको भूमिकामा आफैं अभिनय गरेका छन् । वास्तविक जीवनबाट प्रेरित कथा समेटिएको गीतले उनीहरूको प्रेम यात्रा र जीवनका उतार–चढावलाई प्रस्तुत गर्छ । गोविन पुनको शब्द तथा संगीत रहेको गीतमा जीवन्त प्रेमभाव झल्किन्छ । भिडियो निर्देशन विक्रान्त मान श्रेष्ठ र क्रिस्टिना बसिस्टले गरेका हुन् भने साहिल खानको सम्पादन र प्रविण श्रेष्ठको पटकथा रहेको छ ।
छायांकन अष्ट्रेलियामा सौरभ मानन्धर, न्यूजिल्याण्डमा यूरिका फिल्मस् प्रा.लि. र अमेरिकामा पशुपति बस्यालले गरेका हुन् । महँगो लागतमा तयार पारिएको भिडियोबारे गायक सुरेश बस्नेत भन्छन्, “हामीले पैसाभन्दा पनि गीत–संगीतप्रतिको प्रेमका कारण यो सिर्जना दर्शकमाझ ल्याएका हौं । गीत र भिडियोले दर्शकको मन छुने विश्वास छ ।”
चिकित्सक पेशामा व्यस्त रहँदा पनि उनीहरूले गीत–संगीत यात्रालाई निरन्तरता दिने बताएका छन् ।




