अभिनेता जीतु नेपालले निर्माण गरेको फिल्म ‘आई.एम. जीतबहादुर’को टिजरले युट्युबमा उत्साहजनक प्रतिक्रिया पाएको छ । सार्वजनिक भएको चार दिनमै टिजरले झन्डै साढे ६ लाख भ्युज बटुलेको छ भने ६ हजारभन्दा बढी लाइक र करिब पाँच सय कमेन्ट प्राप्त गरेको छ । दर्शक प्रतिक्रियाअनुसार टिजरको प्रस्तुति र स्टाइल फरक तथा आकर्षक रहेको भन्दै प्रशंसा गरिएको छ ।
हाल ‘पाँच पाण्डव’को छायांकनमा व्यस्त रहेका अभिनेता जीतु नेपाल टिजरले पाएको मायाबाट उत्साहित देखिएका छन् । उनले छिट्टै फिल्मको प्रदर्शन मिति घोषणा गरिने र क्रमशः अन्य प्रचार सामग्री सार्वजनिक गरिने जानकारी दिएका छन् । भारतीय बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको फिल्मले गाउँबाट शहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गर्छ । फिल्ममा जीतु नेपाल मुख्य भूमिकामा छन् भने उनको जोडीका रूपमा वर्षा राउत देखिएकी छन् ।
यसैगरी, प्रियंका कार्की, सन्दीप क्षेत्री र देशभक्त खनालले विशेष भूमिकामा अभिनय गरेका छन् । कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको फिल्ममा निश्चल कुँवर र निरज नेपाल कार्यकारी निर्माता रहेका छन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारी सह–निर्माता हुन् ।
भारतीय सिनेमाटोग्राफर अरविन्दको छायांकन रहेको फिल्म आगामी असारभित्र प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।




