यो वर्षकै बहुप्रतिक्षित फिल्म ‘राम नाम सत्यः पर्दा भित्रको पर्दा’को टिजर सार्वजनिक गरिएको छ । एक्सन, सस्पेन्स, प्रेम र थ्रिलले भरिएको टिजरले फिल्मप्रति दर्शकको उत्सुकता थप बढाउने देखिन्छ । सार्वजनिक टिजरमा नायक विराज भट्टलाई यसअघिको भन्दा फरक र आक्रामक एक्सन अवतारमा देख्न सकिन्छ । माइकल चन्दको निर्देशनमा तयार भएको फिल्मको टिजरले आगामी चैत्र २७ गते बक्स अफिसमा धमाका गर्ने संकेत गरेको छ ।
फिल्ममा विराज भट्टसँगै सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार र खुशी कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ । टिजरमा यी सबै कलाकारहरुको झलक देख्न सकिन्छ । माइकल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको छ। किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता रहेको फिल्मका क्रियटिभ निर्माता मोती कार्की हुन् ।
राजेन्द्र आचार्य लाइन प्रोड्युसर रहेको फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत रहेको छ । अभिमन्यु निरवी र समय थपलिया फिल्मका स्क्रिप्ट सल्लाहकार हुन् । माइकल चन्दकै कथा तथा पटकथा रहेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन र काला चरणको ब्याकग्राउन्ड म्युजिक रहेको छ । साहिल खानले टिजर तथा ट्रेलर निर्माण गरेका हुन् ।
फिल्ममा समावेश ‘धागोले बाटेको’ बोलको गीत यसअघि नै सुपरहिट भइसकेको छ । अब सार्वजनिक टिजरले पनि दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाउने विश्वास निर्माण टिमले लिएको छ ।




