प्रदर्शन मिति नजिकिँदै जाँदा फिल्म ‘बिगुल’को प्रचार–प्रसारले तीव्रता पाएको छ । रमेश कोइराला निर्देशित यो फिल्म आगामी माघ ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ । देशको वर्तमान राजनीतिक अवस्थासँग मेल खाने विषयवस्तुमा बनेको ‘बिगुल’को फर्स्टलुक पोस्टर, टिजर र ट्रेलरले दर्शकको ध्यान खिचिरहेका बेला निर्माण टिमले पूर्वी नेपालका विभिन्न शहरहरूमा दर्शक साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ ।
निर्देशक रमेश कोइरालासँगै फिल्मका कथाकार तथा निर्माता दिनेश कोइरालाले विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोड हुँदै हेटौडा र चितवनसम्म पुगेर दर्शकमाझ प्रत्यक्ष रूपमा फिल्म प्रदर्शन हुन लागेको सन्देश पुर्याएका हुन् । करिब एक साता लामो मोफसल दौडामा निर्माता–निर्देशकले दर्शकको प्रतिक्रिया बुझ्नुका साथै फिल्म हेर्न सबैलाई आह्वानसमेत गरे ।
देशको समसामयिक राजनीति, जनताको चासो, हक–अधिकार, सामाजिक न्याय र पारिवारिक दायित्वका विषयलाई उठान गरिएको फिल्मको प्रचार–प्रसारमा सामाजिक संस्था जेसीजले पनि सक्रिय साथ दिएको निर्माण टिमले जनाएको छ । पूर्वी नेपाल दौडाहासँगै ‘बिगुल’ निर्माण टिमले फिल्ममा समावेश लोकभाकाको गीत ‘बनको कोइली बनैमा रमायो’ शुक्रबार सार्वजनिक गरेको छ । यशराज गचर र ऋचा थापा फिचर्ड उक्त गीतमा मनिष चौधरी र शान्तिश्री परियारको स्वर, मनोज चौलागाईंको शब्द तथा संगीत र कमल राईको कोरियोग्राफी रहेको छ ।

निर्माता कोइरालाका अनुसार अब केही दिनमै निर्माण टिम मध्य तथा पश्चिम नेपालका दर्शकमाझ प्रत्यक्ष भेटघाटका लागि निस्कने तयारीमा छ । ‘भुइँमान्छेको कथा र समृद्ध नेपालको कल्पना’ प्रस्तुत गर्ने फिल्मका रूपमा व्याख्या हुँदै आएको **‘बिगुल’**मा बेनीशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित, मानस्री शर्मा लगायतका कलाकारको अभिनय रहेको छ भने वरिष्ठ अभिनेता रविन्द्र खड्का विशेष भूमिकामा देखिएका छन् ।

म्याग्नोलिया ग्रुपको ब्यानरमा बनेको फिल्ममा महेश कोइराला र सूर्यकान्त कोइराला सह–निर्माता छन् । प्रदीप भारद्वाज र मौनता श्रेष्ठले पटकथा तथा संवाद लेखेका हुन् । काफिया फिल्म्स् र श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले वितरण गर्ने फिल्मको छायांकन शिव ढकालले गरेका छन् । फिल्ममा कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनभी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत तथा तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ ।




