भारतको झारखण्ड राज्यस्थित राँची शहरमा सम्पन्न अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट कराँते च्याम्पियनसिप–२०२६ मा नेपाल क्योकुशिन–सेइशिन करातेका खेलाडीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन् । विभिन्न तौल र उमेर समूहमा प्रतिस्पर्धा गर्दै नेपाली टोलीले ८ स्वर्ण, ३ रजत र ४ कास्य पदक जित्न सफल भएको हो । स्वर्ण पदक जित्ने खेलाडीहरूमा शनि सिं (ओपन वेट), प्रविण माझी (६० केजी), भुपेन्द्र बहादुर ओली (५५ केजी), निग्मल तामाङ (१३–१४ वर्ष), मञ्जु बीके (लेडीज ओपन), बिन्दु चौधरी (५५ केजी), मनिता राई (५० केजी) र अञ्जिला श्रेष्ठ (१८ वर्ष मुनि) रहेका छन् ।

त्यसैगरी रजत पदक जित्ने खेलाडीहरूमा विकाश गुरुङ (ओपन वेट), बिष्णु थापा मगर (६० केजी) र निशा केसी (लेडीज ५० केजी) छन् भने कास्य पदक प्राप्त गर्ने खेलाडीहरूमा रबिन्द्र लोहार (ओपन वेट), अभय राउत (५० केजी), अनिशा गोले (१३–१४ वर्ष) र प्रकृति लिगल (११–१२ वर्ष) रहेका छन् । उक्त प्रतियोगितामा नेपाली टोली विश्व क्योकुशिन काइ कराते फेडेरेशनका उपाध्यक्ष तथा नेपाल क्योकुशिन सेइशिन काइकान कराँते संघका अध्यक्ष एवं नेपाल ब्रान्च चिफ शिहान अशोक कुमार श्रेष्ठको नेतृत्वमा ३२ सदस्यीय टोलीका रूपमा सहभागी भएको थियो ।
नेपाल क्योकुशिन सेइशिन काइकान कराँते संघका खेलाडीहरूको विदाइ कार्यक्रम राष्ट्रिय खेलकुद परिषद (राखेप) का कार्यकारी सदस्य भानुबहादुर चन्द, बोर्ड सदस्यहरू जगत सिंह धामी, हिमाल श्रेष्ठ, जगत तमटा तथा नेपाल कन्ट्याक्ट कराते महासंघका पदाधिकारीहरूको उपस्थितिमा शुभकामनासहित सम्पन्न गरिएको थियो । नेपाली खेलाडीहरूको यस उपलब्धिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको क्योकुशिन सेइशिन कराँतेको क्षमता र स्तरलाई थप उजागर गरेको छ ।
यस सफलताले आगामी दिनमा नेपाली खेलाडीहरूलाई थप प्रेरणा र उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ । यस प्रतियोगितामा नेपालको तर्फबाट मुख्य जुरीमा शिहान अशोक कुमार श्रेष्ठ, मुख्य रेफ्रीमा बद्री थापा तथा सहायक रेफ्रीहरूमा सन्तोष गुप्ता, राजकुमार तामाङ, जयराम तामाङ, सम्पूर्ण महर्जन, छविलाल खड्का र अफिसियलमा राजन तामाङले सहभागिता जनाएका थिए ।




