अभिनेत्री तथा मोडल गरिमा शर्मा फिचर्ड हिन्दी भाषाको म्युजिक भिडियो सार्वजनिक भएको छ । महँगो लागतमा निर्माण गरिएको उक्त भिडियोको सम्पूर्ण छायांकन अमेरिकामा गरिएको हो । शनिबार राजधानीमा आयोजित एक भव्य समारोहबीच सार्वजनिक गरिएको भिडियोमा गरिमासँगै मोडल तथा गायक रोशन अधिकारी मुख्य भूमिकामा देखिएका छन् । अमेरिकामै बसोबास गर्दै आएका अधिकारीका अनुसार भिडियो निर्माणमा ५५ हजार अमेरिकी डलर खर्च भएको छ, जुन हालको विनिमय दरअनुसार नेपाली रुपैयाँमा करिब ७५ लाख हुन आउँछ ।
अमेरिकाका विभिन्न मनोरम लोकेशनमा छायांकन गरिएको भिडियोले दुई युवा–युवतीबीचको सुन्दर प्रेमकथालाई प्रस्तुत गर्छ । गरिमा र रोशनलाई प्रेमिल भावमा फिचर्ड गरिएको भिडियोको मेकिङ स्तर उच्च देखिन्छ । भिडियोमा समावेश दृश्य र गीतका शब्दहरूले प्रेमीले प्रेमिकाप्रति व्यक्त गर्ने भावना स्पष्ट रूपमा झल्काउँछन् । सार्वजनिक गीतमा शब्द तथा संगीत स्वयं रोशन अधिकारीकै रहेको छ ।

सुमन लामिछानेको कोरियोग्राफी रहेको भिडियोमा विवेक सुनारको सम्पादन र मिलन विश्वकर्माको कलरिङ छ । अमृत विश्वले छायांकन गरेको भिडियो शान थापाको कन्सेप्टमा सिद्धार्थ विश्वले निर्देशन गरेका हुन् । नेपालबाट विशेष रूपमा म्युजिक भिडियो छायांकनका लागि अमेरिका पुगेकी अभिनेत्री गरिमा शर्माले यो परियोजना आफ्नो लागि भिन्न अनुभव भएको बताइन्। राम्रो टिमवर्कका कारण अपेक्षितभन्दा उत्कृष्ट नतिजा आएको उनको भनाइ छ ।
त्यसैगरी, गायक, मोडल तथा संगीतकार रोशन अधिकारीले नेपाली गीत–संगीत र मनोरञ्जन क्षेत्र आफ्नो जीवनको अभिन्न अंग बनिसकेको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर यही क्षेत्रमा सक्रिय रहने बताए । कार्यक्रममा दिग्गज कलाकार नीर शाह, राजु सिंह लगायतले रोशन र गरिमाको कामको प्रशंसा गर्दै बधाइ तथा शुभकामना दिएका थिए ।




