शिरो फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्म ‘रमिताको पिरती’ आगामी माघ २३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । रिलिजको तयारीमा रहेको यस फिल्मको दोस्रो गीत ‘जुनी भर’ बुढासुब्बा डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा महेश काफ्ले को शब्द, संगीत र स्वर रहेको छ भने स्वरमा उनलाई अस्मिता अधिकारीले साथ दिएकी छन् । रोमान्टिक शैलीको यस गीतमा फिल्मका मुख्य कलाकार आना शर्मा र विनय श्रेष्ठलाई देख्न सकिन्छ ।
गीतको भिडियोमा विनयले आनालाई प्रेमपूर्वक फकाउँदै गरेको दृश्य प्रस्तुत गरिएको छ भने आना भने उनको प्रेम प्रस्तावलाई सहजै स्वीकार नगरेको देखिन्छ। यसले फिल्ममा विनय र आनाबीचको प्रेम सम्बन्धको सुरुवात यही गीतमार्फत देखाइएको संकेत गर्छ ।
फिल्ममा आना शर्मा र विनय श्रेष्ठसँगै समीर श्रेष्ठ, गियाना, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, थिन्ले लगायत कलाकारहरूको पनि अभिनय रहेको छ । फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत समावेश छ ।
सुदिप्ताको लेखन तथा निर्देशनमा तयार भएको यस फिल्मका निर्माता सागर लम्साल हुन् । आरपी प्रोडक्सन, गणेश पाण्डे, सुवास कोइराला र प्रवेश लामिछाने फिल्मका एसोसियट निर्माता रहेका छन् भने आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता हुन् ।
फिल्मको डीओपी शिशिर बिशाङ्खे, ट्रेलर तथा टिजर साहिल खानले तयार पारेका छन् ।
सुनिल शिवभक्तिको सम्पादन रहेको गीतको भिडियोमा झोलेइज्म, जेनिश महर्जन र प्रयत्नको छायांकन, झोलेइज्मकै सम्पादन तथा कृतिका बरालको कोरियोग्राफी रहेको छ । निर्माणपक्षका अनुसार फिल्म ‘रमिताको पिरती’ ले एक युवतीको प्रेम भावना, मनोविज्ञान र सम्बन्धलाई सुक्ष्म रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ ।




