चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को मुख्य भूमिका तथा निर्देशनमा तयार भएको फिल्म ‘गोबर गणेश’ अहिले दर्शक र फिल्मप्रेमीहरूको बीचमा चर्चा चुलिएको छ । सार्वजनिक भएको केही समयमै फिल्मको ट्रेलर र समावेश गीत ‘ओ हेलो हाई हाई’ ले युट्युबमा मिलियन भ्युज पार्दै दर्शकको मन जित्न सफल भएका छन् । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक ट्रेलरमा एक गाउँले युवकको काठमाडौँ छिरेपछिको संघर्ष, पारिवारिक सम्बन्ध र मित्रताको कथा कलात्मक ढंगले प्रस्तुत गरिएको छ । ट्रेलरमा देखाइएको आमा–छोराको भावनात्मक सम्बन्ध र शहरको कठोर वास्तविकताले धेरै दर्शकलाई भावुक बनाएको छ ।
मरिचमान श्रेष्ठको स्वर रहेको ‘ओ हेलो हाई हाई’ बोलको गीत अहिले टिकटक र युट्युबमा निकै लोकप्रिय बनेको छ। बल्छी श्रेष्ठ र वर्षा सिवाकोटी फिचर्ड यो गीतले दर्शकलाई डान्सिङ बिटमा झुमाएको छ । समाचार तयार पार्दासम्म ट्रेलर र गीत दुवैले युट्युबमा मिलियन भ्युज पारिसकेका छन्, जसले फिल्मप्रति दर्शकको उत्सुकता झल्काउँछ । युट्युब कमेन्ट बक्समा दर्शकहरूले फिल्मको विषयवस्तु र कलाकारको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका छन् । एक दर्शकले लेखेका छन्, “ट्रेलर हेर्दा मनै छुन्छ, गाउँबाट शहर आएर संघर्ष गर्ने हरेक युवाको कथा यसमा झल्किएको छ ।”
अर्का दर्शक लेख्छन्, “बल्छी धुर्बे दाइको अभिनय सधैं प्राकृतिक लाग्छ । हाँसो र आँसु दुवैको समिश्रण ट्रेलरमा देखियो, फिल्म सुपरहिट हुने पक्का छ ।” धेरै दर्शकले फिल्मको ‘गोबर गणेश’ शीर्षक मौलिक र फरक रहेको भन्दै प्रशंसा गरेका छन् । बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्ममा बल्छी र वर्षा सिवाकोटीसँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछाने लगायतका कलाकारहरू छन् ।
फिल्मको कथा र निर्देशन स्वयं मरिचमान श्रेष्ठले गरेका हुन् । यो उनका लागि पहिलो फिचर फिल्म निर्देशन हो । ‘मेरी बास्सै’ बाट दर्शकमाझ लोकप्रिय बनेका उनी त्यसपछि टेलिचलित्र ‘हल्का रमाइलो’ र ‘जुठे’ मा पनि निर्देशन गर्दै दर्शकको मन जितिसकेका छन् । छायांकन शिवराम श्रेष्ठले गरेका हुन् भने सम्पादन विपिन मल्लको रहेको छ। चलचित्र आगामी माघ १ गते (माघे संक्रान्ति) देखि देशभरका हलहरूमा प्रदर्शन हुँदैछ । नेपालमा वितरण श्री ब्याकटेस इन्टरटेनमेन्ट मार्फत हुनेछ ।




