नेपाली फिल्म ‘आ बाट आमा’ पोस्टर तथा गीत रिलिजपछि चर्चामा आएको छ । आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्मका गीत दर्शकले मन पराएपछि विदेशमा समेत यसको माग बढ्दै गएको छ । यही क्रममा फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार धमाधम विक्री हुन थालेको छ । परदेशिएका नेपालीहरूको कथामा आधारित यस फिल्मको प्रदर्शन अधिकार हालै माल्टामा समेत विक्री भएको छ । निर्माण टिम र माल्टाका वितरक सुवास ढकाल तथा विकास ढुङ्गानाबीच माल्टामा प्रदर्शनका लागि औपचारिक सम्झौता सम्पन्न भएको हो ।
माल्टामा बसोबास गर्ने नेपाली दर्शकलाई लक्षित गर्दै ढकाल र ढुङ्गानाले फिल्मको प्रदर्शन अधिकार खरिद गरेका हुन् । फिल्मका निर्देशक चन्द्र पन्तले ‘आ बाट आमा’को माल्टा प्रदर्शन अधिकार राम्रै रकममा विक्री भएको जानकारी दिए । “हाम्रो फिल्म माल्टाका लागि प्रदर्शन अधिकार बिक्री गरेका छौँ,” निर्देशक पन्तले भने, “राम्रै रकममा सम्झौता भएको छ ।” विदेशमा आफ्नो फिल्मप्रति बढ्दो माग देखेपछि निर्देशक पन्त उत्साहित देखिएका छन् ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ । निर्देशक चन्द्र पन्तकै कथा तथा पटकथामा निर्माण भएको यस फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ । गीतका भिडियोहरूमा गम्भीर बिष्ट र दिलिप ओखेडाले कोरियोग्राफी गरेका छन् । नवराज उप्रेती डिओपी रहेको फिल्मका संवाद अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तको सहकार्यमा लेखिएका हुन् ।
फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माताको रूपमा संलग्न छन् । फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका छन् भने ट्रेलर तथा टिजर साहिल खानले निर्माण गरेका हुन् । नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले सम्हालेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलको हातमा रहेको छ ।




