गायिका विन्दु परियार तथा गायक एवं ¥यापर आश्मान केसीको नयाँ गीत ‘च्वाप्प मोइ’ सार्वजनिक गरिएको छ । काठमाडौँमा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको यस गीतमा शब्द र सङ्गीत आश्मान केसीकै रहेको छ । गीतको म्युजिक भिडिओमा समेत विन्दु र आश्मान नै फिचर्ड छन् । गीत सार्वजनिक कार्यक्रममा उपस्थित अतिथिहरूले विन्दु र आश्मानको जुगल्बन्दीको खुलेर प्रशंसा गरेका थिए ।
कार्यक्रममा बोल्दै गायिका विन्दु परियारले आफ्नै गीतमा नृत्य गर्ने सपना यसपटक पूरा भएको बताइन् । उनले भनिन्, “आफ्नो गीतमा नाचौँ–नाचौँ भन्ने चाहना थियो, जुन यसपटक पूरा भयो । यो नाच्ने शैलीको गीत हो । आश्मानजीसँगको सहकार्यले गीतलाई पृथक बनाएको महसुस भएको छ। सबै वर्गका दर्शक–श्रोताले रुचाउने गरी गीत तयार गर्ने प्रयास गरेका छौँ ।”

गीत ‘च्वाप्प मोइ’ मार्फत पहिलोपटक मोडलिङको अनुभव लिएको बताउँदै उनले नयाँ अनुभव सङ्गालेको पनि साझा गरिन् । कार्यक्रममा उपस्थित अतिथिहरूले विन्दुको स्वरको प्रशंसा गर्दै आश्मानसँगको सहकार्य सशक्त देखिएको प्रतिक्रिया दिएका थिए ।
गीतकार राजेन्द्र थापाले विन्दुको स्वरलाई अन्य गायिकाभन्दा पृथक भएको उल्लेख गर्दै नयाँ सहकार्यको प्रशंसा गरे ।
उनले भने, “विन्दुलाई मैले सुरुआती दिनदेखि नै उनको फरक आवाजका कारण नोटिस गरेको हुँ । उनी विभिन्न किसिमका गीतमार्फत आफ्नो क्षमता देखाउँदै आएकी छिन् । यसपटक आधुनिक धुनमा ¥यापको संयोजनले नयाँ सम्भावनालाई देखाएको छ ।”
उनले गीतको म्युजिक भिडिओको पनि तारिफ गरे ।
त्यसैगरी ¥यापर हाकिमले फरक–फरक विधामा स्थापित कलाकारहरूको सहकार्यले दर्शकलाई नयाँपन दिने विश्वास व्यक्त गरे । उनले भने, “विन्दुजी आधुनिकसँगै पाश्र्वगायनमा पनि सुनिनुभएको आवाज हो भने आश्मानजीले ¥याप सङ्गीतमा आफ्नो सम्भावना देखाउनुभएको छ । दुवै विधा मन पराउने दर्शकलाई एउटै ठाउँमा ल्याउने हाम्रो प्रयास पनि हो ।”
गीत ‘च्वाप्प मोइ’ गायिका विन्दु परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीत डाइनामिक स्टुडियोमा तयार गरिएको हो भने विमल छिनालले एरेञ्ज गरेका हुन् । म्युजिक भिडिओमा मेघनाथ चौधरीको छायाङ्कन, विमला तामाङको शृंगार, मिलन विश्वकर्माको कलर, जीएफएक्स तथा सम्पादन, रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ । भिडिओको निर्देशन ¥यापर आश्मान केसीले गरेका हुन् ।




