माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रमिताको पिरती’ फरक विषयवस्तु र प्रस्तुतीका कारण यतिबेला चर्चामा छ । सार्वजनिक भइसकेका पोस्टर र टिजरले फिल्मप्रति दर्शकको चासो बढाइरहेका छन् । फिल्मले एक युवतीको जीवन, संघर्ष, प्रेम तथा आरोह–अवरोहलाई कलात्मक ढंगले चित्रण गरेको छ । नायिका आना शर्माको फरक गेटअप र शैलीले विशेषगरी युवापुस्तामाझ फिल्मको विषयवस्तु लोकप्रिय बन्दै गएको छ ।
यसैक्रममा, फिल्मको रोमान्टिक गीत ‘तिमी भए काफी’ आज ललितपुरस्थित लाबिम मलमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा नायिका आना शर्मा र नव–नायक तथा गायक समीर श्रेष्ठको आकर्षक रोमान्स देख्न सकिन्छ
। थाइल्याण्डको रमणीय लोकेशनमा छायांकन गरिएको गीतमा आना र समीर प्रेमिल र खुलेका देखिन्छन्। गीतको कोरियोग्राफी, सिनेमाटोग्राफी तथा दृश्य संयोजन लोभलाग्दो बनेको छ ।
समीर श्रेष्ठकै स्वरमा समावेश गीतमा सास्वतको संगीत रहेको छ । झोले फिल्मका डीओपीले खिचेको यस गीतको भिडियोले दर्शकको मन जित्ने विश्वास गरिएको छ । सुदिप्ताको निर्देशनमा बनेको यस फिल्मका निर्माता सागर लम्साल हुन् । फिल्ममा आना शर्मा, धिरज मगर, समीर श्रेष्ठ, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना र थिन्ले लामो लगायत कलाकारहरूको अभिनय रहेको छ ।
सुदिप्ताकै लेखनमा तयार भएको फिल्ममा शिशिर विशाङ्खेको डीओपी, सुनिल सिवाकोटीको सम्पादन र कृतिका बरालको कोरियोग्राफी रहेको छ । आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा आरपी प्रोडक्सन, गणेश पाण्डे, सुभाष कोइराला र प्रवेश लामिछाने एसोसिएट निर्माता छन् । फिल्मको संगीतमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको योगदान रहेको छ ।




