राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल उपत्यका शाखाको आयोजनामा आज रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा सञ्चारकर्मी, युवाहरू तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रकाश कटुवालले रक्तदानलाई जीवनदानको संज्ञा दिँदै यस्ता मानवीय कार्यमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल उपत्यका शाखाले समाजप्रति देखाएको जिम्मेवारी प्रशंसनीय रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रमको सभापतित्व अनु अर्पणले गर्नुभएको थियो । उहाँले रक्तदानजस्ता अभियानले आपतकालीन अवस्थामा रहेका बिरामीहरूको जीवन जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आगामी दिनमा पनि उपत्यका शाखाले सामाजिक हितका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका संयोजक संजय पोखरेलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रक्तदाताहरू, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।




