नेपाली सांगीतिक क्षेत्रका वरिष्ठ गायक कमल बी.के. ‘निर्मोही’लाई ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ द्वारा सम्मानित गरिएको छ । नेपाली गीत–संगीतमा उहाँले पुर्याएको दीर्घ साधना र उल्लेखनीय योगदानको कदरस्वरूप उहाँलाई नगद रु. ५१ हजार, सम्मानपत्र र दोसल्ला सहित सम्मान प्रदान गरिएको हो ।
मृगौला रोगबाट पीडित रहँदै पनि निरन्तर सांगीतिक सिर्जनामा सक्रिय गायक निर्मोहीका ‘बुलबुल तालैमा’, ‘आऊँ त भने’, ‘मैले भन्थें नि’, ‘सलल बग्ने’, ‘ताने झैँ माया’, ‘अरू मैले’, ‘भेरी दोभान’ र ‘लाग्यो माया’ जस्ता गीतहरू आज पनि श्रोतामाझ अत्यन्त लोकप्रिय छन् । साथै, उहाँ एक कुशल रेडियोकर्मी पनि हुनुहुन्छ । राजधानी काठमाडौंमा सम्पन्न पुरस्कार समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सी. प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा संगीत तथा चलचित्र क्षेत्रका वरिष्ठ कलाकार, स्रष्टा, सञ्चारकर्मी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो ।
पुरस्कारका संरक्षक गायक तथा संगीतकार कन्हैया सिंह परियारले पुरस्कारको उद्देश्यबारे बताउँदै भने, “यो सम्मानले कलाकारको मनमा खुसी, जीवनमा उत्साह र सर्जनामा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।” कार्यक्रमका संयोजक तथा किर्तिमान संगीतकार सन्तोष श्रेष्ठले पुरस्कारको उद्देश्य, उपादेयता र प्रभावकारिताबारे प्रकाश पारेका थिए ।
प्रमुख अतिथि अध्यक्ष दिनेश डि.सी.ले भने, “‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार’ ले गीत–संगीतमा आवद्ध कलाकारलाई नगद राशीसहित सम्मान गर्नु प्रशंसनीय कार्य हो । यस्ता कार्यक्रमहरूले कलाकारमा नयाँ उत्साह, ऊर्जा थप्नुका साथै निरन्तर सिर्जनशील रहन प्रेरणा दिन्छन् ।”
उनले प्रवासमा रहेर पनि नेपाली संगीतको विकासका लागि योगदान दिँदै आएका कन्हैया सिंह परियार र अञ्जना गुरुङप्रति धन्यवाद व्यक्त गरे । कार्यक्रम एरा प्रोडक्सनको व्यवस्थापनमा सम्पन्न भएको थियो । संचालन चर्चित रेडियोकर्मी हेम सुवेदीले गरेका थिए भने कार्यक्रमका सदस्य सचिव निर्देशक माधव खरेल र सभापति टिका गोपाल एम. क्रियशनकी अध्यक्ष गीता सिंह रहनु भएको थियो ।




