रिहान प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘मुगलान’को टिजर सार्वजनिक गरिएको छ। निर्माण टिमले आइतबार युना डिजिटलको युट्युब च्यानलमार्फत ३९ सेकेण्ड लामो टिजर रिलिज गरेको हो । टिजरमा आर्थिक अभावले विवश एक युवाले परिवारको सुखका लागि भारतमा मजदुरी गर्न जाने कथा देखाइएको छ । विदेशमा पाएको सास्ती र गाउँघरमा साहुले गरेको अत्याचारबीचको द्वन्द्वले फिल्मको भावनात्मक पक्ष झल्काउँछ । टिजरले नै भन्छ— यो नेपाली समाजको यथार्थ कथा हो ।
फिल्मले युवाहरूको परदेश जाने सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्ने संकेत गर्छ । आगामी पुष १० गतेदेखि प्रदर्शनमा आउन लागेको ‘मुगलान’मा प्रभात पाल र स्मारिका ढकाल मुख्य भूमिकामा छन् । साथै फिल्ममा श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
फिल्मलाई आशिष ढकालले लेखन र निर्देशन गरेका हुन् भने निर्माता गोमन सिंह हुन्। सह–निर्माताको रूपमा रिता चौधरीले लगानी गरेकी छिन् । फिल्ममा तारा थापा ‘किम्भे’को सम्पादन, जय बिष्ट र राम गुरुको द्वन्द्व निर्देशन, र अजय रेग्मीको छायांकन (DOP) रहेको छ । देबेन्द्र कुँवरले कोरियोग्राफी र रिदम कँडेलले BGM (ब्याकग्राउन्ड म्युजिक) प्रदान गरेका छन् ।
संगीतमा किरण भुषाल छन् भने गायनमा शान्तिश्री परियार, प्रताप दास, बेनिशा पौडेल र हरि गिरी (विमर्शी)को आवाज समावेश छ। गीत लेखनमा आशिष ढकाल, सिर्जना लम्साल र हरि गिरी (विमर्शी) रहेका छन् । फिल्मको वितरण आर आर फिल्म्सले लिएको छ ।




