फिल्म ‘पीआर’ मा समावेश गीत ‘टाटा बाइ बाइ’ ले हाल सामाजिक सञ्जालमा ठूलो चर्चा पाएको छ । गीत रिलिज भएको केही दिनमै युट्युब र टिकटक दुबैमा दर्शकले यसलाई अत्यधिक रुचाएको पाइएको छ । टिकटकमा अहिले अधिकांश भिडियोहरूमा यही गीतको शब्द “टाटा बाइ बाइ” प्रयोग भइरहेको छ । गीतको लोकप्रियतासँगै फिल्मको निर्माण टिम उत्साहित देखिएको छ ।
फिल्मका निर्देशक शोभित बस्नेत ले सामाजिक सञ्जालमार्फत दर्शकप्रतिको आभार व्यक्त गर्दै आफ्नो फिल्मको गीतले यस्तो चर्चा पाउँदा “दंग” भएको प्रतिक्रिया दिएका छन् । यो गीत गत आइतबार सलोमा युटुब च्यानलबाट रिलिज गरिएको थियो । रिलिज भएको केही दिनमै गीतले युट्युबमा हजारौँ भ्युज र दुई हजारभन्दा बढी लाइक बटुलेको छ । अधिकांश कमेन्टकर्ताले गीतको संगीत, शब्द र नृत्यको तारिफ गरेका छन् ।
गीतमा भिम बी.सी. को संगीत, टेक बी.सी. र प्रीती घिमिरे को स्वर रहेको छ भने भिडियोमा रामजी लामिछाने ले कोरियोग्राफी गरेका छन् । गीतमा फिल्मका मुख्य कलाकार नीर शाह र गौरी मल्ल को रमाइलो नृत्य दर्शकले विशेष रूपमा मन पराइरहेका छन् । सलोन सलिना फिल्म्स को ब्यानरमा बनेको यस फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल लगायतका कलाकारले अभिनय गरेका छन् । त्यसैगरी, नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की विशेष भूमिकामा देखिनेछन् ।
निर्देशक बस्नेत का अनुसार, ‘पीआर’ प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित फिल्म हो । फिल्मले विदेशमा रहेका छोराछोरी र नेपालमा रहेका बुबाआमाको भावना र अपेक्षालाई मार्मिक ढङ्गले प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ । फिल्मका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल रहेका छन् ।
फिल्मको लेखन गणेश बुढाथोकी, सम्पादन बन्दे प्रसाद, र छायांकन सौरभ सायमी र सौरभ लामा ले गरेका हुन् । फिल्मको वितरण जिम्मा आर आर फिल्म्स ले लिएको छ । ‘पीआर’ आउँदो मंसिर २६ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।




