भावनात्मक पारिवारिक कथामा आधारित नेपाली फिल्म‘परान’ दोस्रो सातामा प्रवेशसँगै बक्स अफिसमा आक्रमक बनेको छ । न्यून शो सहित प्रदर्शनमा आएको फिल्मले क्रमशः दर्शकको माया र समर्थन बटुल्दै ब्लकबस्टरको बाटोमा अघि बढिरहेको देखिएको छ ।
रिलिजको बेला जम्मा ६४ शो पाएको फिल्म अहिले देशभरका १ सय ५३ हलहरूमा प्रदर्शन भइरहेको छ ।
आज शुक्रबार दुई नयाँ फिल्म रिलिज भएपछि प्रारम्भिक शोमा हलमा दर्शक संख्यामा केही कमी देखिए पनि शनिबारको लागि दर्शकको चाप उच्च हुने संकेत देखिएको छ । अनलाइन टिकटिङ प्लेटफर्म ‘खल्ती’ का अनुसार शुक्रबार शो घटाएका केही हलहरूले शनिबारलाई मध्यनजर गर्दै पुनः शो थपेका छन् । फिल्मको टिकट बिक्रीको गति निरन्तर बढ्दै गएपछि थप हलहरूमा विस्तार हुने सम्भावना देखिएको छ ।
रिलिजको सुरुवाती दुई दिन लगातारको वर्षाले व्यापार प्रभावित पारे पनि मंगलबारदेखि फिल्मले अभूतपूर्व उकालो यात्रा थालेको थियो । दर्शक र समीक्षक दुवैले फिल्मको कथा, अभिनय र निर्देशनको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । सामाजिक सञ्जालमा ‘परान’ हेरेर भावुक भएका दर्शकका भिडियो र प्रतिक्रिया भाइरल भइरहेका छन्। कतिपय दर्शकले फिल्मले मन छोएको बताउँदै “यो वर्षको सबैभन्दा आत्मिक र पारिवारिक फिल्म” भन्दै प्रतिक्रिया दिएका छन् ।
दीपक प्रसाद आचार्यको डेब्यू निर्देशन रहेको यो फिल्मलाई गोल्छा समूहका शेखर गोल्छा र प्रिज्मा एडभर्टाइजिङका रञ्जित आचार्य सहस्वामित्वमा रहेको बाइस्कोट सिनेमा ले निर्माण गरेको हो । फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी, प्रविण खतिवडा, अञ्जना बराइली र बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।
दर्शकको उत्साह र सकारात्मक माउथ पब्लिसिटी हेर्दा ‘परान’ले आगामी दिनमा पनि बक्स अफिसमा बलियो उपस्थिति कायम राख्ने निश्चित देखिन्छ ।




