कार्तिक १४ गते केवल ६४ शो बाट सुरुवात गरेको फिल्म ‘परान’ ले दर्शकको बलियो वर्ड अफ माउथ (माउथ पब्लिसिटी) पाउँदै रिलिजको छैटौं दिनमै देशभर सर्वाधिक शो पाउने फिल्म बनेको छ । रिलिजका प्रारम्भिक दुई दिन औसत व्यापारमा सीमित ‘परान’ले पछिल्ला दिनहरूमा दर्शकको प्रशंसा र सिफारिसका कारण हल सञ्चालकहरूको ध्यान तानेको छ ।
खल्ती एपमा उपलब्ध ताजा तथ्यांक अनुसार, फिल्मले हालसम्म देशभर १३२ शो पाएको छ । शो संख्यामा दोस्रो स्थानमा अनमोल केसी अभिनीत ‘जेरी अन टप’ रहेको छ, जसले ११९ शो प्राप्त गरेको छ । हाल नेपाली हलहरूमा प्रदर्शनमा रहेका अन्य फिल्महरूमा ‘वरिष्ठ बलराम’ (२१ शो) र ‘मैझारो’ (४ शो) रहेका छन् ।
विदेशी फिल्महरूको शो संख्या भने अपेक्षाकृत न्यून छ — पुनः रिलिज भएको ‘बाहुबली’ ले ४७ शो, ‘थामा’ ले १३ शो र ‘कान्तारा–२’ ले ६ शो पाएको छ । दर्शक र समीक्षक दुबैबाट उत्कृष्ट प्रतिक्रिया पाएपछि हलहरूले अन्य फिल्महरूको शो कटौती गरी ‘परान’लाई बढी शो दिएका हुन् ।
फिल्म हेरेका दर्शकहरूले “उत्कृष्ट कथा, भावनात्मक प्रस्तुति र बलियो अभिनय” भन्दै सोशल मिडियामा उत्साहजनक प्रतिक्रिया दिइरहेका छन् । दीपक प्रसाद आचार्यको निर्देशनमा बनेको ‘परान’ गोल्छा समूहका शेखर गोल्छा र प्रिज्मा एडभटाइजिङका रञ्जित आचार्यको सहस्वामित्वमा रहेको बाइस्कोप सिनेमाको निर्माण हो ।




