शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको पारिवारिक भावनात्मक फिल्म ‘पराना’ले देशभर सुखद व्यापार गरिरहेको छ । फिल्मले पहिलो सप्ताहन्तमै दर्शकको राम्रो प्रतिक्रिया पाउँदै बक्स अफिसमा उत्साहजनक कारोबार गरेको छ । नीर शाहको केन्द्रीय भूमिका रहेको ‘पराना’ले विशेषगरी पारिवारिक दर्शक र मध्यम उमेरका दर्शकलाई हलसम्म तान्न सफल भएको छ । काठमाडौं उपत्यकाका क्यूएफएक्स, एफक्यूब, बिग मुभिज, सिटी सिनेमा लगायतका मल्टिप्लेक्स हलमा फिल्मले लगातार हाउसफुल शो चलाइरहेको निर्माण पक्षले जनाएको छ ।
फिल्मले प्रदर्शनको पहिलो तीन दिन (शुक्रबारदेखि आइतबारसम्म) देशभरबाट दर्शकको साथ मा त्र हैन् बक्स अफिस कलेक्सन पनि राम्रो देखिएको छ । उपत्यका बाहिरका सहरहरू—पोखरा, धरान, बुटवल, विराटनगर, नेपालगञ्ज र हेटौँडामा पनि फिल्मले दर्शक उपस्थिति राम्रो पाएको छ । फिल्ममा नीर शाहसँगै मदानकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ, प्रवीण खतिवडा लगायतका कलाकारको अभिनयले दर्शकलाई भावनात्मक बनाएको प्रतिक्रियाहरू सामाजिक सञ्जालमा देखिएका छन् । धेरै दर्शकले फिल्मले “बुबाआमाको माया र सन्तानको दूरी”लाई मन छुने रूपमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरेका छन् ।
निर्देशक दीपक आचार्यको डेब्यु निर्देशन रहेको फिल्म ‘पराना’को कथा, संगीत र भावनात्मक गहिराइले दर्शकलाई प्रभावित पारेको छ । समीक्षकहरूले पनि फिल्मको सादगीपूर्ण कथा र सशक्त अभिनयको प्रशंसा गरेका छन् । फिल्म विकास बोर्डका एक अधिकारीका अनुसार, हाल प्रदर्शनरत नेपाली फिल्महरूमध्ये ‘पराना’को ओपनिङ कलेक्सन सबैभन्दा स्थिर र सन्तुलित देखिएको छ । शनिबार र आइतबारको भीड हेर्दा फिल्मले दोस्रो सातासम्म पनि प्रदर्शन सशक्त रूपमा अघि बढाउने अनुमान गरिएको छ।
निर्माता शेखर गोल्छा र रञ्जित आचार्यले दर्शकको साथ र माया प्रति आभार व्यक्त गर्दै फिल्मले नेपाली पारिवारिक सिनेमामा नयाँ अध्याय सुरु गरेको बताए । यदि यो प्रदर्शन दर निरन्तर रह्यो भने, ‘पराना’ले आगामी साताभित्रै आफ्नो लागत बराबरको आम्दानी गर्ने सम्भावना बलियो देखिएको छ ।




