वैज्ञानिक कल्पनामा आधारित नेपाली फिल्म ‘एक्लो’को टिजर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको एक मिनेट पाँच सेकेन्ड लामो टिजरले नेपाली सिनेमा क्षेत्रमा नयाँपन ल्याउने संकेत गरेको छ ।
फिल्मलाई नियमित रूपमा बन्ने नेपाली फिल्मभन्दा फरक कथा र प्रस्तुतीकरणमा निर्माण गरिएको बताउँदै निर्माण टिमले यसले दर्शकलाई नयाँ अनुभव दिने विश्वास व्यक्त गरेको छ । ‘एक्लो’ आगामी पुष १७ गते (जनवरी १, २०२६), नयाँ अंग्रेजी वर्षको अवसर पारेर प्रदर्शनमा आउनेछ ।
यसअघि फिल्मले विश्वविख्यात कान्स फिल्म फेस्टिभलमा स्टलमार्फत आफ्नो अन्तर्राष्ट्रिय उपस्थितिको पहिचान बनाइसकेको थियो । कान्समा सहभागितापछि यस फिल्मको चर्चा उल्लेखनीय रूपमा बढेको निर्माण पक्षले जनाएको छ । फिल्मका निर्देशक प्रदीप शाही हुन्, जो बेलायतमा बसोबास गर्दै आएका छन् । उनले यसअघि ‘गोर्खा ब्रिनिथ द ब्रेभरी’ र ‘अन्तीम संस्कार’ निर्देशन गरिसकेका छन्, जुन दुवै फिल्म एमेजोन प्राइममा रिलिज भइसकेका छन् । निर्देशक शाहीले ‘एक्लो’लाई हलिउडस्तरको प्रविधि र प्रस्तुतीकरणसहित निर्माण गरिएको बताएका छन् ।
फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह, साथै बेलायती अभिनेता जेमी बेकनको अभिनय रहनेछ ।
फिल्ममा एनआरएन समूहको लगानी रहेको छ भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् । फिल्ममा अभिनेता प्रदीप खड्काले पनि लगानी गरेका छन् । निर्माण टिमका अनुसार, विदेशमा रहेका नेपालीहरूको सहभागितासहित यो फिल्मले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने प्रयास गरेको छ । फिल्मको छायांकन बाबु श्रेष्ठले गरेका हुन् । द्वन्द्व निर्देशन राजु तामाङ, सेट डिजाइन राजु पेन्टर, कला निर्देशन सन्तोष लामा, र प्रोडक्सन डिजाइन द्रोण प्रसाद पौडेल ‘ठेउके’ले सम्हालेका छन् ।
‘एक्लो’लाई नेपाली फिल्म उद्योगमा वैज्ञानिक कल्पनामा आधारित उच्चस्तरीय प्रस्तुति दिनेतर्फको गम्भीर प्रयासका रूपमा हेरिएको छ । फिल्मको वितरण एप्पल इन्टरटेन्मेन्ट, एफडी कम्पनी र रिच इन्टरटेन्मेन्टले गर्नेछन् ।




