नेपाली संगीत क्षेत्रका अग्रज गायक आनन्द कार्की अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। उनले नेपालीसँगै हिन्दी भाषामा पनि थुप्रै गीत र गजल गाएर संगीत क्षेत्रलाई समृद्ध बनाएका छन् ।शान्तिवन, भारतमा सम्पन्न ‘ग्लोबल समिट २०२५’ मा नेपाली र अन्य भाषामा चार दशकदेखि निरन्तर गायनमार्फत विशेष योगदान पुर्याएको कदरस्वरूप उनलाई विशेष सम्मान प्रदान गरिएको हो ।
भारतका विभिन्न विशिष्ट व्यक्तित्वसँगै नेपालबाट प्रतिनिधित्व गर्दै गायक आनन्द कार्कीलाई सम्मानित गरिएको हो । उक्त समिटमा अन्य विभिन्न देशका कलाकार र स्रष्टाहरू पनि सम्मानित भएका थिए । विश्वभरका नेता, कलाकार र चिन्तकहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा सम्मान ग्रहण गर्दा गायक कार्कीले आफूलाई गर्वको अनुभूति भएको बताएका छन् ।
गायक कार्कीले पछिल्ला वर्षहरूमा विभिन्न देशमा सम्पन्न सांगीतिक कन्सर्टहरूमा प्रस्तुती दिएर नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउँदै आएका छन्। उनले भारतसहित अनेक देशका कार्यक्रममा नेपाली गीतमार्फत सांस्कृतिक पहिचान फैलाएका छन्।
सम्मान ग्रहण गरी काठमाडौँ फर्किएका गायक कार्कीले भने, “आयोजक संस्था र सम्पूर्ण टिमप्रति हार्दिक आभार व्यक्त गर्दछु । दर्शक–श्रोताको माया र साथले नै यो सम्मान सम्भव भएको हो,”
भन्दै उनले नेपाली संगीतप्रति निरन्तर समर्पित रहने प्रतिबद्धता जनाए ।




