आउँदो फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘कल्ली’को तीन पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले प्रचार अभियान सुरु गरेको छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्मका पोस्टरमा प्रमुख कलाकारहरूलाई फरक–फरक गेटअप र भावनात्मक अभिव्यक्तिमा देख्न सकिन्छ ।
फिल्मको कथा तथा निर्देशन लक्ष्मण सुनारले गरेका हुन् भने लेखन महेश दवाडीको हो । सार्वजनिक पोस्टरहरूमा नायक नाजिर हुसेन र नायिका वर्षा राउतको काखमा बाल कलाकार मञ्जिला बानियाँ देखिएका छन् । अर्को पोस्टरमा कलाकार सुलक्षण भारती भिन्न अवतारमा प्रस्तुत भएका छन् भने तेस्रो पोस्टरमा सौगात मल्लको शक्तिशाली उपस्थिति देखाइएको छ, जसले फिल्मको कथाबारे दर्शकमाझ उत्सुकता थप बढाएको छ ।
फिल्ममा सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, वर्षा राउत, बेगम नेपाली, बिनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगर मुख्य भूमिकामा छन् । साथै, उपेश ढकाल, मञ्जिला बानियाँ र समर्पण खतिवडा बाल कलाकारको रूपमा देखिनेछन् ।
फिल्ममा आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत, एन.भी. महर्जनको एक्सन निर्देशन, र निसाल पौडेलको छायांकन रहेको छ। फिल्मको पोस्टर डिजाइनर राकेश दाहाल हुन् । लेकाली इन्टरटेन्मेन्ट प्रा.लि. र कस्तुरी प्रोडक्सनको संयुक्त प्रस्तुतिमा बनेको यो फिल्मबाट दर्शकले भावनात्मक कथा, रहस्य र पारिवारिक सम्बन्धको गहिरो प्रस्तुतिको अपेक्षा गर्न सक्नेछन् ।




