अमेरिकामा बसोबास गर्दै आएकी गायिका नीता आचार्य ले आफ्नो नयाँ शिवभजन ‘त्रिनेत्रधारी’ सार्वजनिक गरेकी छन्। भजनमा नीताको भक्ति र समर्पणले गीतलाई मार्मिक बनाएको छ । भजनको निर्देशन अनुभवी निर्देशक तथा कोरियोग्राफर गोविन्द राई ले गरेका छन् ।
राईले नेपाली चलचित्र र संगीत क्षेत्रमा १५० भन्दा बढी फिल्म र १००० भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका छन् र हाल न्यूयोर्क, अमेरिकामा आफ्नो डान्स स्कूल सञ्चालन गर्दै आएका छन् । भिडियोको छायांकन तथा सम्पादन अञ्जय खड्काले गरेका छन् ।
भिडियोमा नीता आचार्यसँगै बालकलाकार महर्षि घिमिरेले अभिनय गरेका छन्। महर्षि निर्देशक शंकर घिमिरे र अभिनेत्री रिचा घिमिरेका छोरा हुन् । भजन हिन्दू बुद्ध मन्दिर र मेरिल्यान्डको बाल्टिमोर वरपर छायांकन गरिएको छ । नीता आचार्य लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय छिन् । उनका लोकप्रिय गीतहरू – “समर्पण”, “जिन्दगी त संगै जिउने हो”, “यादहरू रंगिन संसार” – आज पनि श्रोताको मनमा ताजा छन् ।




