काठमाडौं, असोज ११ – रंगमञ्चबाट अभिनय यात्रामा उदाएका विजय बरालको नाम सधैँ दमदार अभिनयका लागि लिइन्छ। तर, डान्समा भने उनलाई प्रायः आलोचना खेप्नुपर्दथ्यो। यद्यपि, नयाँ चलचित्र *‘वरिष्ठ बलराम’*को गीत ‘न्यौली बनैमा’ मार्फत उनले नृत्यमा समेत दर्शकको मन जित्न सफल भएका छन्। प्रशान्त शिवाकोटीको शब्द र संगीतमा बनेको यस गीतमा प्रशान्त स्वयं र गायिका शान्तीश्री परियारको स्वर रहेको छ। गीतमा विजय बराल र समृद्धि अर्यालले प्रेमी युगलको रूपमा अभिनय गरेका छन्, जहाँ उनीहरू शंका र भावनाको बीचमा जीवन सँगै बिताउने निर्णयमा पुग्छन् ।
यही प्रसंगमा प्रस्तुत गरिएको नृत्य दृश्यले दर्शकबाट अत्यधिक प्रशंसा बटुलिरहेको छ। डान्सका लागि आलोचित हुँदै आएका विजय यसपटक चिटिक्क परेको लुक, फूर्तिलो चालढाल र आत्मविश्वासपूर्ण नृत्यका कारण चर्चा बटुलिरहेका छन्। कोरस सहितको भिडियोलाई दर्शकले ‘रुकुम मैकोट’ जस्ता चर्चित गीतसँग तुलना गर्न थालेका छन्। गीत युट्युबमा सार्वजनिक भएसँगै दर्शकको प्रतिक्रिया उत्साहजनक देखिएको छ।
टिकटकमा पनि गीतको भिजुअल्स भाइरल बन्दै गएका छन्। विजयको नृत्य, अभिनय र समृद्धिसँगको जोडी सबैले मन पराएका छन्। नृत्य निर्देशक प्रदीप लामाको कोरियोग्राफीलाई पनि दर्शकले मन पराएका छन्। कात्तिक ६ गते भाइटीकाको दिन देशभर रिलिज हुने ‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, र प्रदीप कुमार चौधरी (पीके) लगायतका कलाकारहरूको अभिनय रहेको छ।
निर्देशक पौडेलकै कथा र सम्पादनमा बनेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा निर्मित फिल्मका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन्। चितवनका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको सामाजिक कथावस्तुमा आधारित फिल्ममा मनकृष्ण महर्जनको छायांकन, तारानाथ न्यौपानेको सहायक निर्देशन, सम्राट बस्नेतको एक्सन निर्देशन तथा प्रशान्त शिवाकोटीको संगीत संयोजन रहेको छ।
काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिब्युसनले फिल्म वितरण गर्नेछ।




