गायक प्रताप दास र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘बयान’ भिडियो सहित सार्वजनिक गरिएको छ। उक्त भिडियो नुवाकोटको बिदुर स्थित शिवालय सिनेप्लेक्समा एक विशेष कार्यक्रममा सार्वजनिक गरियो। यस कार्यक्रममा म्युजिक भिडियो निर्माण टिमसँगै नुवाकोटका थुप्रै गन्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
गीतको शब्द रचना व्यवसायी सन्तोष सरगम अधिकारीले गरेका छन् भने संगीत सरोज पोखरेलको रहेको छ। रोशन दासले निर्देशन गरेको भिडियोमा सन्तोष सरगम अधिकारीको जीवन र सफलताको कथा प्रस्तुत गरिएको छ। भिडियोमा सन्तोष सरगम, प्रियना आचार्य, नारायण बिक र रुपा पुडासैनी प्रमुख भूमिकामा फिचर भएका छन्।
सन्तोष सरगम अधिकारीको यो पहिलो म्युजिक भिडियो हो, र भिडियोमा सन्तोष र प्रियना आचार्यको केमिस्ट्रीलाई निकै आकर्षक रूपमा प्रस्तुत गरिएको छ। नितेश घतानले छायांकन गरेको यस भिडियोको सम्पादन बिनोद बमले गरेका हुन्। भिडियोमा नुवाकोटका रमणीय स्थानहरूको दृश्यांकन पनि गरिएको छ, जसले भिडियोमा थप सौंदर्य र आकर्षण थपेको छ।
यस गीतको निर्माण सरोज पोखरेलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो। सन्तोष सरगम अधिकारी, जो शिवालय सिनेप्लेक्सका संचालक पनि हुन्, यस गीतको रेस्पोन्सलाई हेरेर नेपाली गीत संगीतमा निरन्तर काम गर्ने इच्छा व्यक्त गरेका छन्। उनले नुवाकोटमा थुप्रै प्रतिष्ठित ब्राण्डहरू स्थापित गरेका छन् र आफूले सृजना गरेको यो गीतलाई ठूलो सफलता मिल्ने अपेक्षासहित अघि बढ्न चाहन्छन् ।
VIDEO – LINK




