फिल्म हरिबहादुरको जुत्ता को नयाँ गीत सुन्तलीमाई सार्वजनिक गरिएको छ । फिल्मको रिलिज मिति दशैँको फूलपाती अर्थात् असोज १३ गते तय गरिएको छ । समिक्षा अधिकारी र मोहितवंश आचार्यको आवाजमा रहेको यो गीत, दिनेश थपलियाको शब्द, वसन्त सापकोटाको संगीत, कुशल सिंहको एरेन्ज र श्याम श्वेत रसाइलीको मिक्सिङ्ग/मास्टरिङ्गमा तयार भएको हो ।
गीतको भिडियोमा प्रमुख कलाकार आर्यन सिग्देल, प्रकाश सपुत र बर्षा राउतको अभिनय देख्न सकिन्छ । फिल्मको कथा अनुसार यो गीतको भिडियोमा फिल्मका अन्य प्रमुख पात्रहरू पनि प्रस्तुत भएका छन् । विक्रम स्वारको कोरियोग्राफी र कृष्ण बहादुर थापाको छायांकनमा तयार भएको यो भिडियो नहकुल खड्काले सम्पादन गरेका छन् ।
हरिबहादुरको जुत्ता फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गरेका छन् र यसमा मुख्य भूमिका निभाइरहेका छन् हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका चर्चित कलाकारहरूले ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् । फिल्मको संगीतमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको योगदान छ भने आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाई जस्ता कलाकारहरूको स्वर सुन्न सकिन्छ । फिल्म दशैँको अवसरमा, असोज १३ गतेदेखि सिनेमाघरमा प्रदर्शनमा आउँदैछ ।




