महाकाव्यकार खेमनाथ दाहालले २०६० सालमा लेखेको काव्य ‘योद्धा’ का श्लोकहरूलाई गीतमा परिणत गरी राजधानीमा मंगलबार एक विशेष समारोहमा गीतको भिडियो सार्वजनिक गरिएको छ । कार्यक्रममा साहित्य, संगीत र इतिहासको संगम बनेको वातावरण सिर्जना भयो । गीतको एउटा पंक्ति ‘लालीगुराँसको साटो रक्तरञ्जित भो वन, द्यौराली अनि पाखामा लासको टाकुरा किन?’ ले नेपालको ऐतिहासिक पीडालाई व्याख्या गरेको छ ।
प्रमुख अतिथि प्राडा. शैलेन्द्रु प्रकाश नेपालले गीत र काव्य दुवै कालजयी र सान्दर्भिक रहेको बताए भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष राधेश्याम लेकालीले गीत र भिडियोको प्रशंसा गर्नुभयो । गीतमा स्वर दिएका कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले गहिरा काव्यलाई गीतमा परिणत गर्न चुनौती भएपनि यसले आफूलाई नयाँ सिर्जनामा तानेको बताए ।
कार्यक्रम वरिष्ठ संगीतकार राजु सिंहको सभापतित्वमा सम्पन्न भयो। साहित्यकार, संगीतकार र कलाकारहरूको उपस्थितिले समारोहलाई विशेष बनाएको थियो । गीत र भिडियोको निर्देशन कृष्ण भुसालले गरेका छन् भने संगीत संयोजन राजु कार्कीले गरेका हुन् । यो गीत नेपाली साहित्य र संगीतमा नयाँ सांस्कृतिक र ऐतिहासिक आवाजको रूपमा स्थापित भएको छ ।




