गायिका सिम्रन परियारको स्वरमा समावेश नयाँ गीत ‘चुना लाएर’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। दिनेश सुवेदीको शब्द र बाबुल गिरीको संगीत रहेको यस गीतले प्रेम, पीडा र बदलाको भाव समेटेको छ । गीतको भिडियोमा मोडल इशा परियारको प्रमुख नृत्य प्रस्तुत गरिएको छ । लामो समयदेखि मोडलिङ क्षेत्रमा सक्रिय इशाले यस भिडियोमा पनि आफूलाई आकर्षक रूपमा प्रस्तुत गरेकी छन् ।
यसअघि उनले अभिनेता पल शाहसँग ‘डार्लिङ डार्लिङ’ जस्ता चर्चित गीतमा अभिनय गरिसकेकी छन्, साथै उनले एक दर्जनभन्दा बढी म्युजिक भिडियोहरूमा काम गरिसकेकी छन् । ‘चुना लाएर’ को भिडियोलाई विशाल कैनीले निर्देशन र कोरियोग्राफी गरेका छन्। भिडियोमा इशासँगै विशाल कैनी, रमेश अधिकारी, रमेश वुढाथोकी र दीपेन्द्र कुँवरको अभिनय पनि देख्न सकिन्छ ।
प्राविधिक पक्षमा नवराज उप्रेतीको छायांकन, मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोले एक युवतीले भोग्नुपरेको पीडा र त्यसपछि लिएको बदलाको कथा प्रस्तुत गर्छ । गीत र भिडियो दुवैले भावनात्मक गहिराइ र दृश्य सौन्दर्य समेटेको भन्दै दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।




