आगामी कार्तिक ७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मैझारो’ को टिजर सार्वजनिक गरिएको छ। सोमबार बडादसैंको घटस्थापनाको दिन सार्वजनिक गरिएको टिजर १ मिनेट ५८ सेकेन्डको छ । टिजरमा फिल्मका प्रमुख कलाकारहरू धिरज मगर, मिरुना मगर र दिया पुन बीचको त्रिकोणात्मक प्रेम देखाइएको छ। टिजरको दृश्यहरू विशेषगरी इलामका चिया बगान, गाउँले परिवेश र किराती संस्कृतिमा आधारित छन् ।
मिरुनालाई चिया टिप्न डोको बोकेको अवस्थामा देख्न सकिन्छ भने धिरजसँगको उनको प्रेम सम्बन्ध देखिन्छ। तर केही बाध्यता वा परिस्थितिका कारण धिरज, दियासँग नजिकिएको संकेत पनि टिजरमा गरिएको छ । धेरै दर्शकहरूले विल्सन विक्रम राई (तक्मेबुढा) को नामसँगै कमेडी शैलीको फिल्म अपेक्षा गरे पनि, यो टिजरले त्यसको ठीक विपरीत, गहिरो भावनात्मक प्रेमकथा देखाउँछ। निर्देशकको रूपमा डेब्यु गरिरहेका राईले मौलिक नेपाली कथावस्तुलाई प्रामाणिक ढंगले प्रस्तुत गरेका छन् भन्ने प्रतिक्रिया देखिन थालेको छ।
फिल्म ‘मैझारो’ को कथा पनि विल्सन विक्रम राईकै हो। फिल्ममा धिरज, मिरुना र दियासँगै दयाहाङ राई, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, माओत्से गुरुङ, अभयराज बराल, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन, विशाल लिम्बु जस्ता कलाकारहरूको पनि अभिनय समावेश गरिएको छ । फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राई को संगीत रहेको छ। गीतहरूमा राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारी लगायतका स्वर सुनिनेछन् ।




