‘वरिष्ठ बलराम’ फिल्मको पहिलो गीत ‘न्यौली बनैमा’ सार्वजनिक गरिएको छ। निर्माण टिमले आज सार्वजनिक गरेको यो गीतमा प्रेमभावना र विश्वास–अविश्वासबीचको द्वन्द्व चित्रण गरिएको छ। गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ भने शान्तीश्री परियारले समेत स्वर दिएकी छन्। प्रेमिल भाव बोकेको गीतमा प्रेमीले प्रेमिकासँग जीवन बिताउने सपना बाँडेको देखिन्छ भने प्रेमिकाले प्रेमीको व्यवहारमा शंका व्यक्त गरेकी छन्। अन्ततः प्रेमीको आग्रहमा प्रेमिकाले शंका हटाउँदै प्रेममा सहमति जनाउने दृश्य समेटिएको छ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विजय बराल र समृद्धि आर्यालको अभिनय देख्न सकिन्छ, जसले उनीहरू फिल्मको जोडी रहेको संकेत गर्छ। कात्तिक ६ गते (भाइटीका) मा प्रदर्शनमा आउने फिल्म ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि आर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायतको अभिनय रहेको छ।
फिल्मको कथा र सम्पादन निर्देशक पौडेल स्वयंले गरेका छन् भने पटकथा महेश दवाडीले लेखेका हुन्। वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको यस फिल्मका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन्। चितवनका विभिन्न स्थानमा छायांकन गरिएको सामाजिक कथावस्तुमा आधारित फिल्ममा मनकृष्ण महर्जनको छायांकन, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन रहेको छ। तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा संलग्न छन्।
फिल्मलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।




