गत वर्षको सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ का निर्देशक सरोज पौडेलले निर्देशन गरेको नयाँ फिल्म ‘कोशेढुङ्गा’ को दोस्रो गीत ‘भंगेरा र भंगेरी’ सार्वजनिक गरिएको छ । यसअघि तीजको डान्सिङ गीत सार्वजनिक गरेको निर्माण टिमले सोमबार प्रेमिल गीत सार्वजनिक गरेको हो । प्रेममा रहेका युवायुवतीले एकले अर्कासँगै जीवन बिताउन आग्रह गर्दै, सुखी जीवन यापनका लागि आम्दानीको स्रोत के हो भन्ने प्रश्न समेत गरेको छ ।
जिन्दगी बिताउन पैसा पनि चाहिन्छ भन्ने सन्देश दिन खोजिएको गीतमा प्रेमसँगै जोडिएर आउने भविष्यको समस्यालाई देखाउने प्रयास गरिएको छ । प्रेमी–प्रेमिकाले एकअर्कालाई जिस्क्याउँदै “सरकारी जागिर छ” भन्दै लोभ्याउनेदेखि “कति तलब हो?” भन्ने प्रसंग समेत गीतमा समावेश गरिएको छ । ‘भंगेरा र भंगेरी’को मायालाई बिम्ब बनाएर तयार गरिएको गीतमा बैंस साट्ने मायालु जोडीको कथा देखिन्छ । गीतमा स्वर रिदम कँडेल र बेनिशा पौडेलको छ भने संगीत पनि रिदम कँडेलकै हो ।
शब्दरचना बिदुर तिमल्सिना (देवदूत) को रहेको यो गीतको भिडियोमा सुरक्षा पन्त र मन्जिल कुमार फिचर्ड छन् । यसअघि सार्वजनिक गरिएको ‘नत्र भने जिन्दगी व्यर्थ छ’ बोलको गीत अहिले टिकटकमा हिट छ । आगामी भदौ १२ गते रिलिज हुने नरदेवी फिल्म्सको प्रस्तुति र सारंगी फिल्म्सको सहकार्यमा बनेको फिल्म ‘कोशेढुङ्गा’ मा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, स्नेहा जोशी, सविता रेग्मी, हिउँवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतको अभिनय छ ।
फिल्मका निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुन् भने कार्यकारी निर्माता दिनेश खड्का छन् । छायांकन बाबु श्रेष्ठ, सम्पादन नहकुल खड्का, संगीत आशिष अविरल र रिदम कँडेल, कास्टिङ डाइरेक्टर: सुवलमणि सापकोटा, यो फिल्म नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ । प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनल ले अन्तर्राष्ट्रिय वितरणको जिम्मा लिएको छ । पहिलो पटक यति धेरै देशमा एकसाथ प्रदर्शन हुँदै गर्दा ‘कोशेढुङ्गा’ ले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने अपेक्षा निर्माण टिमले लिएको छ ।




