आगामी शुक्रबार (साउन २३ गते) बाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘सिटामोल’को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक गरिएको छ। फिल्मको आक्रामक प्रचारप्रसार जारी रहेका बेला निर्माण टिमले यो गीत सार्वजनिक गरेको हो । गीतमा अञ्जना खतिवडा र रवि ओडको स्वर सुन्न सकिन्छ भने बाबुल गिरीले शब्द, संगीत र एरेञ्ज गरेका छन् । गीतले नेपाली मौलिकता झल्काउने र फिल्मको कथा र भावलाई थप सशक्त बनाउने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ ।
यसअघि सार्वजनिक गरिएको फिल्मको ट्रेलरले दर्शकबाट निकै सकारात्मक प्रतिक्रिया पाएको थियो । ट्रेलरमा गरिबी, बेरोजगारी, पारिवारिक झमेलासहित सरकारी उदासिनतालाई हास्य व्यङ्ग्य शैलीमा प्रस्तुत गरिएको छ । फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्रीकृष्ण र जानुका यस फिल्मबाट नेपाली रजतपटमा डेब्यु गर्दैछन् ।
राज बहादुर सानेको निर्देशनमा बनेको यो फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक साने स्वयंले लेखेका हुन्। तुल्सी देवी फिल्म प्रालीको ब्यानरमा र जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको हो । सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भुगोल कुमार कार्की र विकास राज जोशी निर्माता छन् भने अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता तथा गंगाराम श्रेष्ठ सह-निर्माताका रूपमा रहेका छन् ।
फिल्म ‘सिटामोल’मा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको डिआई कलर, मुकेश शाहको साउन्ड डिजाइन, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन, विकास तामाङ र धनबहादुर राईको प्रोडक्सन व्यवस्थापन तथा दिव्य सुवेदीको छायांकन रहेको छ ।




