चर्चित गायिका आस्था राउतले आफ्नो नयाँ गीत ‘कम्मरै भाँचेर’ सार्वजनिक गरेकी छन् । म्युजिक नेपाल युट्युब च्यानलमार्फत आज सार्वजनिक गरिएको यो गीत खुसी र स्वतन्त्रताको सन्देश बोकेको आकर्षक डान्सिङ नम्बर हो । जीवनलाई हाँस्दै, नाच्दै र रमाउँदै जिउनुपर्ने सन्देश दिने यस गीतले मनको रहरहरू साँचेर मात्रै होइन, पूरा गरेर बाँच्नुपर्छ भन्ने भावना उजागर गर्छ ।
साथीभाइलाई हाँसेर बोल्न र हाँसेर जीवन बिताउन प्रेरित गर्दै गीतले सुख-दुःख जीवनका यथार्थ पाटा हुन् भन्ने भाव व्यक्त गर्छ । गीतको भिडियो पनि उत्तिकै आकर्षक बनेको छ । नायिका आस्मा विश्वकर्माको बोल्ड नृत्य, र ठूलो संख्यामा सहभागी कोरस डान्सले भिडियोमा थप रंग भरेको छ । भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् भने रोशन विक को कोरियोग्राफीले नृत्यलाई सजीव बनाएको छ ।
गायिका आस्था भन्छिन्, “गीतजस्तै भिडियो पनि निकै राम्रो बनेको छ । हामीले मेकिङमा कुनै सम्झौता गरेका छैनौँ।” उनका अनुसार यो गीत तीजमा पनि रमाईलो गरी गाउन र नाच्न मिल्ने, सदाबहार डान्सिङ नम्बर हो । विशेषगरी महिलालाई खुलेर बाँच्न र सुखी हुन प्रेरित गर्ने सन्देश यो गीतले दिएको उनी बताउँछिन् ।




