फिल्म कोशेढुङ्गा को तीज विशेष गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक भएको केही समयमै सामाजिक सञ्जालमा भाइरल बनेको छ । निर्देशक सरोज पौडेलका अनुसार यो गीतमा २० हजारभन्दा बढी टिकटक भिडियो बनिसकेका छन् । गीतले युट्युबमा १० लाख र फेसबुकमा ७० लाखभन्दा बढी दर्शक संख्या पार गरिसकेको छ । “हामीले नेपाली संस्कृति जोगाउँदै मनोरञ्जन दिन खोज्यौं, दर्शकको साथले खुशी लागेको छ,” पौडेलले भने ।
नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको संगीत रहेको गीतमा खेमसँगै समीक्षा अधिकारी र दिपिका बयम्बु मगरको स्वर रहेको छ । तीजको पारिवारिक र सांस्कृतिक पक्ष उजागर गर्ने गीतमा विवाहित र अविवाहित महिलाहरूको दृष्टिकोण प्रस्तुत गरिएको छ । भिडियोमा सुरक्षा पन्त र नीति शाह अविवाहितको चाहना प्रस्तुत गर्दै देखिन्छन् भने ऋचा शर्माले विवाहित जीवनको प्रेम र गहिराइलाई अभिनयमार्फत उतारेकी छन् ।
गीतलाई प्रवर्द्धन गर्न निर्माण टिमले टिकटक प्रतियोगिता घोषणा गरेको छ, जसमा उत्कृष्ट प्रस्तुति, सिर्जनात्मकता र लाइक्सका आधारमा ३०, २० र १० हजार रुपैयाँको पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा भाग लिन इच्छुकले #नत्रभनेजिन्दगीव्यर्थछ ह्यासट्याग प्रयोग गर्नुपर्नेछ । भदौ १२ मा प्रदर्शनमा आउन लागेको कोशेढुङ्गा ४२ भन्दा बढी देशमा एकसाथ रिलिज हुने पहिलो नेपाली सिनेमा बन्ने तयारीमा छ ।
निर्देशक पौडेलको अघिल्लो चर्चित फिल्म पूर्ण बहादुरको सारंगी पश्चात् यस फिल्मप्रति उच्च गरिएको छ । नरदेवी फिल्म्स र सारंगी फिल्म्सको संयुक्त प्रस्तुति रहेको चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाहलगायत चर्चित कलाकारहरूको अभिनय रहेको छ। प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनल ले चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ ।




