हिमाल न्यौपानेको निर्देशनमा निर्माण भएको बहुप्रतिक्षित नेपाली फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को दोस्रो गीत ‘मसुरीको दाना’ सार्वजनिक गरिएको छ । अञ्जु पन्त र एसडी योगीको सुमधुर स्वरमा रहेको गीतमा हर्क साउदको शब्द तथा एसडी योगीको संगीत संयोजन रहेको छ । प्रेम र समर्पणको भाव बोकेको यो गीतले दुई प्रेमीबीचको भावनात्मक सम्बन्धलाई झल्काउँछ ।
गीतको भिडियोमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडीलगायत फिल्मका प्रमुख कलाकारहरूको अभिनय देख्न सकिन्छ । कोरियोग्राफर सुनिल क्षेत्रीको संयोजनमा तयार भएको भिडियोमा कोरस कलाकारहरूको ठूलो संख्यामा प्रयोग गरिएको छ, जसले गीतलाई थप रंगीन बनाएको छ । गीतका शब्दहरू नेपालीपन र प्रेमिल भावनाले भरिएका छन् । संसार जित्ने मान्छेहरूकै व्यक्तिगत सम्बन्धहरूमा आउने समस्यालाई गीतले गहिरो ढंगमा चित्रण गरेको छ । विशेषतः विजय बरालको नृत्य अभ्यास र समर्पण भिडियोमा स्पष्ट देखिन्छ ।
‘पूर्णबहादुरको सारङ्गी’ पछि मुख्य भूमिकामा देखा परेका बराललाई लिएर बनेको यो फिल्म दर्शकमा विशेष उत्सुकता जगाइरहेको छ । फिल्ममा केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर जस्ता चर्चित कलाकारहरूको अभिनय रहेको छ । भानुभक्त ढकालको लेखनमा आधारित फिल्मको पटकथा र संवाद पनि ढकालकै हुन् । कमल न्यौपाने र विमल न्यौपाने निर्माताको रूपमा रहेको फिल्म पेपरक्लिप फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो ।
भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर ग्रेडिङ, चुल्ठे काजीको द्वन्द्व निर्देशन रहेको फिल्मको वितरण अधिकार गोविन्द शाहीको काफिया फिल्मसले लिएको हो । निर्देशक न्यौपानेको डेब्यु प्रोजेक्ट भए पनि विषयवस्तु र प्रस्तुतिकरणका हिसाबले ‘जनै हराएको मान्छे’ लाई २०८२ सालको चर्चित फिल्ममध्ये एक मानिएको छ ।




