अभिनेता पल शाहको मुख्य भूमिका रहेको नेपाली फिल्म ‘मोहर’ को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । करिब तीन मिनेट लामो यो ट्रेलरमा सामाजिक अन्यायविरुद्धको कथावस्तु, प्रेम, द्वन्द्व र बदलाको भावना प्रस्तुत गरिएको छ । ट्रेलरमा पल शाह एक इमानदार, निडर र विद्रोही युवकको रूपमा प्रस्तुत भएका छन्, जो समाजमा पूर्णरुपमा अन्त्य नभएको देउकी प्रथाजस्ता कुरीतिविरुद्ध लड्छन् । निर्देशक ओम प्रतिक निर्देशित फिल्मको ट्रेलरमा समाज परिवर्तनको संघर्ष र व्यक्तिगत प्रेमबीचको द्विविधालाई जोडिएको देखिन्छ ।
फिल्ममा नायिका निति शाह प्रेमिकाको भूमिकामा देखिएकी छन्, जसको उपस्थितिले कथावाचनमा गहिराइ थपेको छ । बेनिशा हमाल, अर्जुन जंग शाही, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, सुशिल देवकोटा लगायतका कलाकारले समेत ट्रेलरमा सशक्त उपस्थिति जनाएका छन्।
फिल्मको छायांकन दीपेन बस्न्यातले गरेका हुन् भने सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन्। संगीत सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको रहेको छ । कुमार महर्जनको एक्सन निर्देशन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रको ट्रेलर सम्पादन साहिल खानले गरेका हुन् ।
‘मोहर’को निर्माण फिल्म मेकर्स प्रा.लि. को ब्यानरमा गरिएको हो । फिल्ममा चुम्बन जंग शाहीको लगानी रहेको छ भने गिरिराज घिमिरे मुख्य सहायक निर्देशक हुन् । फिल्मको वितरण रिच इन्टरटेन्मेन्ट, एफडी कम्पनी र एप्पल इन्टरटेन्मेन्टले गर्नेछन् ।
निर्देशक ओम प्रतिकका अनुसार, ‘मोहर’ सामाजिक सन्देश दिनका साथै दर्शकलाई भावनात्मक रूपमा जोड्ने उद्देश्यले निर्माण गरिएको फिल्म हो । ट्रेलर सार्वजनिक भएसँगै दर्शकमाझ फिल्मप्रतिको उत्साह बढेको देखिएको छ ।




