फिल्म ‘अभिमन्यु: च्याप्टर-१’ को एनिमेसन टिजर सार्वजनिक भएको छ । यो फिल्मले नेपाली दर्शकलाई मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाली एनिमेसनको पहिचान बनाउने अपेक्षा गरिएको छ । फिल्म हाल पोस्ट प्रोडक्सनको चरणमा छ र आगामी भदौ २७ गते देशभर प्रदर्शनका लागि तय गरिएको छ ।
फिल्मले चक्रव्यूह र पैसाबीचको संघर्षलाई मुख्य विषय बनाएको छ। पैसाको प्रलोभनमा चक्रव्यूहमा फसेका पात्रले त्यहाँबाट बाहिर निस्कन खोज्ने संघर्षलाई फिल्मले प्रस्तुत गरेको बताइएको छ । फिल्ममा सरिता गिरी, गौमाया गुरूङ, लक्ष्मी बर्देवा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौला लगायतका कलाकारहरूले अभिनय रहेको छन् ।
सेभेन सिज सिनेमा प्रस्तुतिमा निर्माण भएको यो फिल्म सुशान्त गौतमले निर्देशन गरेका हुन् । ‘अभिमन्यु: च्याप्टर-१’ लाई नेपाली एनिमेसन क्षेत्रमा नयाँ उचाइ दिने एक महत्वाकांक्षी प्रोजेक्टको रूपमा हेरिएको छ ।




