नेपाली फिल्म ‘जनै हराएको मान्छे’ को आधिकारिक टिजर सार्वजनिक गरिएको छ । करिब २ मिनेट लामो यो टिजरमा प्रेम, सपना, धोका र मानवीय सम्बन्धहरूबीचको द्वन्द्वलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ । टिजर सार्वजनिक भएसँगै दर्शकमाझ फिल्मप्रति उत्सुकता र चासो थपिएको देखिन्छ ।
फिल्मको टिजरले नेपाली समाज विशेष गरी युवा पुस्ताले भोगिरहेको विदेश जाने सपना, पारिवारिक जिम्मेवारी, र सम्बन्धको उल्झनलाई मुख्य कथावस्तु बनाएको छ । कथाको केन्द्रमा संघर्षशील युवा बिजय बरालले फिल्ममा संघर्षरत युवाको भूमिका निर्वाह गरेका छन्, जो परिवारको भविष्यमाथि सपना बोकेर सहर पस्छ । तर, जीवनका पीडा, धोका, छटपटी र आत्मपरिचयको खोज उसको यात्राको केन्द्रमा देखिन्छ ।
टिजरमा बिजय बराल, केकी अधिकारी, मिरुना मगर, सुसङ्क मैनाली, र भोलाराज सापकोटाको दमदार अभिनय देख्न सकिन्छ । मार्मिक संवाद, सरल तर गहिरा दृश्य संयोजनले टिजरलाई भावुक बनाएको छ । सम्भावनायुक्त कथा सपना र यथार्थबीचको द्वन्द्व, माया र विछोडको पीडा, र सामाजिक दबाबले युवाको जीवनमा पार्ने प्रभाव टिजरमार्फत गहिरो रूपमा प्रस्तुत गरिएको छ । यसले दर्शकलाई भित्रसम्म छोने सम्भावना बोकेको देखिन्छ ।
फिल्मको निर्देशन हिमाल न्यौपानेले गरेका छन् । कथा आत्मपरक र सामाजिक यथार्थमा आधारित छ भने छायांकनमा नेपाली ग्रामीण र शहरी परिवेश सजीव रूपमा उतारिएको देखिन्छ । फिल्म २०८२ साल भदौ ६ गते (२२ अगस्ट २०२५) बाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।




