खिल बहादुर गुरुङको निर्देशनमा बनेको सिनेमा ‘रिमै’ को टिजर मंगलबार सार्वजनिक गरिएको छ । करिब २ मिनेटको यो टिजरमार्फत गहिरो भावनात्मक, रहस्यमय र रोमाञ्चक कथा झल्किएको छ । टिजर सार्वजनिकसँगै निर्माण टिमले प्रदर्शन मिति भदौ २७ बाट एक हप्ता अघि सार्दै भदौ २० गतेका लागि तय गरेको छ । टिजरले ग्रामीण परिवेश, स्थानीय संस्कृति, प्रेम, पीडा र बदला मिसिएको कथालाई संकेत गर्दछ। टिजरमा दयाहाङ राईको गम्भीर र प्रभावशाली अभिनय, रिश्मा गुरुङको आत्मीय उपस्थिति, अर्पण थापाको रहस्यमय भूमिका, र बुद्धि तामाङको गहिरो अभिनयले दर्शकको चासो बढाएको छ ।
द्वन्द्व, तनाव र भावनात्मक उतारचढावले भरिएको टिजरले कथाको गहिराइ प्रस्ट पार्दै दर्शकलाई थप जिज्ञासु बनाएको छ । गुरुङ समुदायको संस्कृति र जीवनशैलीलाई विशेष स्थान दिइएको टिजरले सिनेमाले समाजका यथार्थवादी पक्षहरू प्रस्तुत गर्ने संकेत गर्दछ ।सिनेमामा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको अभिनय रहेको छ ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो सिनेमाको लेखन उपेन्द्र सुब्बाले गरेका हुन्। छायांकन शैलेन्द्र ध्वज कार्कीको रहेको छ भने सम्पादन मित्र डि गुरुङले गरेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेका यस सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता छन् । बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको रूपमा संलग्न छन् ।
सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, र बिष्णु मैनाली प्रोडक्सन म्यानेजर रहेका छन् । ‘रिमै’ टिजरले प्रस्तुत गरेको कथा, पात्र र वातावरणले गर्दा सिनेमा सामाजिक, सांस्कृतिक र भावनात्मक तहमा गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।




